२०८१ असोज २० गते नेपाली बजारमा सुन तोलाको एक लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। त्यसको एक वर्ष बित्दा सुनको मूल्य
तोलामा ७२ हजार एक सय रूपैयाँले बढेको छ।सोमबार बजारमा सुन प्रतितोला दुई लाख ३३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
दसैंको विदायता दुई दिनमा मात्र सुनको मूल्य तोलामा १० हजार रूपैयाँले बढेको हो। नेपाली बजारमा २०७८ फागुन २२ गते पहिलो पटक सुनको मूल्य तोलाको एक लाख रूपैयाँ नाघेको थियो। सो समय सुनको मूल्य तोलाको एक लाख एक हजार नौ सय रूपैयाँ पुगेको थियो।
करिब साढे तीन वर्षमै नेपालमा सुनको मूल्य तोलाको दुई लाख रूपैयाँ नाघेको हो।
अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्यले नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। नेपाली बजारको मागले मूल्यमा खासै परिवर्तन हुँदैन्।
नेपालमा रहेका सुनचाँदी व्यवसायी महासंघहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन्। अहिले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३९३५ डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुमा विभिन्न कारणले काम गरिरहेका छन्।
अमेरिकी केन्द्रीय बैंक (फेड)ले गत सेप्टेम्बरमा मात्रै व्याजदर प्रक्षेपण घटाएको छ। यसअघि ४.२५ देखि ४.५० प्रतिशत ब्याजदर भित्र यस्तो नीतिगत दर सीमित गर्ने लक्ष्य राख्दै आएकोमा अहिले घटाइएको हो। अहिले यस्तो दर ४ प्रतिशतदेखि ४.२५ प्रतिशतमा रहने बताइएको छ।
२०२५ सम्ममा यस्तो दर थप घटेर ३.५० देखि ३.७५ प्रतिशतसम्ममा सीमित हुन सक्ने बताइएको छ।




















