नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै ५३ प्रतिशत प्रतिनिधिले गरेको हस्ताक्षर कार्यबाहक सभापति खड्कालाई बुझाए

 

नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए।

उनले १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरेको जानकारी दिए।पार्टीकोकेन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाउँदै नेता घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए।

उनले पार्टीभित्र विवाद वा विद्रोहका लागि नभई महाधिवेशन प्रतिनिधिहरूले स्वर्गीय नेता सुवर्णशम्शेर राणालगायतले प्रयोग गरेको असल अभ्यासलाई अबलम्बन गरेको बताए।
विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको विशेषाधिकार भएको पनि बताए।
जेन–जी आन्दोलनपछि विकसित परिस्थितिले पार्टीमा नेतृत्वको आमूल परिवर्तन खोजेको भन्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशन माग्दै हस्तक्षर अभियान चलाएका थिए।