काठमाडौँ, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक काठमाडौँमा बोलाएको छ । विभिन्न वामपन्थी शक्तिसँग एकताका लागि आएको प्रस्तावमा छलफल गर्न बैठक बोलाइएको हो । वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशिघ्र निष्कर्षमा पु¥याउन केन्द्रित हुने बैठकमा एकतापछिको पार्टीको सैद्धान्तिक दृष्टिकोण, नेताहरुको व्यवस्थापनलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो । वैचारिक विवाद, सङ्गठनको आन्तरिक द्वन्द्व केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने भएको छ । पार्टीका अधिकांश नेताहरुले अहिले केही कम्युनिष्टलाई पार्टी एकीकृत गर्न अगाडि सबै वामपन्थीबीच ध्रुवीकरणका लागि गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, निर्वाचन प्रक्रियामा सक्रियरुपमा लाग्न पार्टी र जनवर्गीय सङ्गठनका सबै कमिटीलाई परिचालन गर्ने बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति तथा पार्टीबीच सम्वाद र सहकार्य अघि बढाउने जिम्मेवारी दिने छ । समाजवादी मोर्चामा आबद्ध दललगायत अन्य वामपन्थी शक्तिबीच एकताको गृहकार्य गरेको एकीकृत समाजवादीलाई नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न आह्वान गर्नुभएको थियो । —






















