देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत कमजोर बनाइयो

 

 

 

काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियान’क संयोजक दुर्गा प्रसाईले देशलाई विदेशी शक्तिको ‘ग्रान्ड डिजाइन’ अन्तर्गत सुनियोजित रूपमा कमजोर बनाइएको दाबी गरेका छन्। आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले आफूले सुरु गरेको अभियान बैंकको ब्याज नतिर्ने बहाना नभई देशलाई लुटतन्त्रबाट बचाउने प्रयास भएको दाबी गरे।

 

आफूलाई ‘पढेलेखेको नभई भोगेको र बुझेको’ व्यक्ति भन्दै प्रसाईले एक रुपैयाँरबाट आफ्नो व्यावसायिक साम्राज्य खडा गरेको बताए। ‘मलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्‍यो भनेर आरोप लगाइयो, तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छु,’ उनले भने, ‘म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ।’

उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका थिए। साथै, आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको र त्यो सम्मान आफू प्रहरी हिरासतमा हुँदा पाएको उनले बताए।

 

प्रसाईले आफ्नो आक्रोश केही सीमित व्यापारी र समूहप्रति लक्षित रहेको स्पष्ट पारे। उनले केही मारवाडी समुदायका व्यापारीले बिजुली बालेर पैसा नतिर्ने तर आफूजस्ता व्यवसायीले नियमित भुक्तानी गर्दा पनि राज्यबाट अपहेलित हुनुपरेको गुनासो गरे। ‘देशमा ४१ हजार मारवाडी परिवार छन्, मेरो विरोध सबैप्रति होइन। बर्माबाट लखेटिएका १६ परिवार छन्, जसले बर्मालाई नाङ्गो बनाए, अब नेपाललाई पनि त्यही गर्दैछन्,’ उनले भने।

 

उनले आफूले देशको पक्षमा बोल्दा र गलत कार्यको विरोध गर्दा विभिन्न लाञ्छना खेप्नुपरेको बताए।

 

प्रसाईले आफ्नो अभियानको मुख्य जड बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर भएको बताए। ‘बैंकहरूले ७ प्रतिशत भनेर कागज गराउँछन् तर १६-१७ प्रतिशत ब्याज असुल्छन्। यसले गर्दा आम नागरिक, डाक्टर, पत्रकार र व्यवसायी ऋणको पासोमा परेका छन्,’ उनले भने। आफ्नो आन्दोलनकै कारण ब्याजदर ६ प्रतिशतमा झर्न बाध्य भएको र यसको फाइदा सम्पूर्ण नेपालीलाई पुगेको उनको दाबी थियो।