सञ्चारमन्त्री खरेलसँग गणतन्त्र कोरियाका राजदूत योङको शिष्टाचार भेट

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि गणतन्त्र कोरिया ९दक्षिण कोरिया०का राजदूत पार्क तइ योङले शिष्टाचार भेट गरेएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल तथा गणतन्त्र दक्षिण कोरियाबीचको द्विपक्षीय ऐतिहासिक सम्बन्ध, द्विपक्षीय सहकार्य तथा वर्तमान अवस्था र नेपाल सरकारका प्रथमिकताका सम्बन्धमा छलफल भएको सञ्चारमन्त्री खरेलको सचिवालयले जनाएको छ ।

भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध, नेपालमा दक्षिण कोरियाको सहयोगमा सञ्चालित विकास आयोजनालगायत नेपालमा डाटा सेन्टरको स्थापनामा पुर्‍याएको सहयोगका लागि आभारसमेत व्यक्त गरे । यसका साथै मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिको साथै स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी गराए ।

सञ्चारमन्त्री खरेलले रोजगार अनुमति प्रणाली ९इपिएस०मार्फत दक्षिण कोरियाले लामो समयदेखि नेपाली युवालाई रोजगारी प्रदान गरिरहेकोमा सराहाना गरे ।

सो अवसरमा दक्षिण कोरियाका राजदूत पार्क तइ योङले मन्त्री खरेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । राजदूत योङले नेपालमा दक्षिण कोरियाली सहयोगमा सञ्चालित परियोजनाको अवस्था तथा नेपालमा कोरियाली सरकारको सहयोगको प्राथमिकताका विषयमा जानकारी गराउँदै कोरिया सरकार नेपालको शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमार्फत आर्थिक रुपान्तरण एवम् समृद्धिका लागि सहयोग गर्न तत्पर रहेको जानकारी गराए।

राजदूत योङले नेपाली युवा मेहेनती र इमान्दार रहेको तथा पछिल्लो समय नेपाल कोरियामा वैदेशिक रोजगारीमा पठाउने उत्कृष्ट मुलुक रहेको उल्लेख गरे । भेटमा सञ्चार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो ।