अमेरिकामा सट डाउन अन्त्य गर्ने बाटो खुल्यो

अमेरिकी बजेट अभावका कारण अत्यावश्यक बाहेक सबै सरकारी कामकाज ठप्पै गर्नुपर्ने स्थिति (सट डाउन) अन्त्य हुने देखिएको छ । सट डाउन अन्त्य गर्ने उद्देश्यले गरिएको सम्झौता सिनेटबाट पारित भएको छ, जसले गतिरोध अन्त्य गर्ने बाटो खोलेको छ ।

वाशिंगटनमा सप्ताहान्तमा भएको वार्तापछि, केही डेमोक्रेटहरू रिपब्लिकन नेताहरूसँग सामेल भएर सम्झौताको पक्षमा मतदान गरेका छन् । संघीय कर्मचारी र सेवाहरू पुनर्स्थापित गर्न सक्नु अघि सम्झौताले धेरै चरणहरू पार गर्नुपर्छ, जसमा प्रतिनिधि सभामा मतदान पनि समावेश छ ।

तर ४० दिनको गतिरोध पछि यो प्रगतिको पहिलो गम्भीर सङ्केत हो । हालको सटडाउन अमेरिकी इतिहासको सबैभन्दा लामो हो । सप्ताहान्तसम्मै पनि रिपब्लिकन र डेमोक्रेटका सांसदहरू पूर्ण रूपमा गतिरोधमा फसेको जस्तो देखिएको थियो । तर अब सटडाउन अन्त्य गर्ने बाटो स्पष्ट बनेको छ । सटडाउनका कारण अक्टोबरदेखि धेरै सरकारी सेवाहरू निलम्बित भएका थिए । करिब १४ लाख संघीय कर्मचारी बेतलबी बिदा बसेका थिए वा कामै गर्न आएकाहरूले पनि तलब खान पाएका थिएनन् ।