नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र संसदबाट नबनेको उल्लेख गर्दै दलबाट र जेनजीबाट पनि नबनेकोले यो सरकार कस्को भन्नेमा प्रश्न रहेको बताए ।
‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गने, ‘आखिर यो सरकार कसको हो ?’ बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको ओलीले आरोप लगाए।


















