२३ हजार थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

नेपाल प्रहरीले २३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ । गत कात्तिक ३० गते इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त फार्मेसीको सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

५० वर्षीय नसिव नारायण चौधरीलाई पक्राउ गरी निजको घर कोठा समेत कानुन बमोजिम खानतलासी गर्ने क्रममा निजको श्रीमती वर्ष २४ की सम्झना चौधरीले सिमेन्टको २ वोरा घरको छत माथिबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरू चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १ हजार ९ सय ८० पत्तामा १९ हजार ८०० सय क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४ सय पत्तामा ४ हजार ट्यावलेट फेला हुँदा निजहरूलाई दुवै जनालाई उक्त लागु औषध र प्रतिबन्धित औषधी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।