आध्यात्म सनातन बिचौलियाका चङ्गुलमा

लेखनीको उठान
पहिले एकाध पटक गएको तर कसो कसो धित नमरेकोले, धेरै वर्ष देखि थांती रहको वृन्दावन भ्रमण, २०८२ कार्तिकको अन्तिमताका सम्धीज्यूको गुरुको संस्था विश्व जागृति मिशन दिल्लीद्वारा वैजयन्ती धाम, वृन्द्रावन, उत्तर प्रदेशमा १२ देखि १६ नोभेम्बर सम्म सञ्चालन गरिएको श्रीकृष्ण ध्यान योगसंग जोडिने गरी एकसाताको कार्यक्रम बनाएर संयोगवश जुट्न पुग्यौं।

सम्धीज्यू र हाम्रो जोडी चार जना कार्तिक २६ गते काठमाडौं–दिल्ली उडान र त्यहांबाट गुडान गरेर सांझपख वृन्दावन स्थित श्रीकृष्ण जन्माष्टमी आश्रममा बास बस्न पुगेका हौं। तदोपरान्त भोलीपल्ट देखि चार दिन ध्यान योगसंग पनि जोडिंदै, विभिन्न मठमन्दिर पुगेर खासगरी राधा+श्रीकृष्णका बाल्यकाल वितेका, लीलाहरू गरेका स्थानहरूको अवलोकन एवं कृष्ण राधामा सभक्ति ढोग गर्दै विताएका थियौं।

कार्तिक २७ को दिन हामीले सर्वप्रथम बांकेबिहारी गएर आफ्ना ढोग अर्पण ग¥यौं। परम्परागत वास्तुकलालेयुक्त तथा ढुङ्गाका स्तम्भले बनेको विश्वमै राधाकृष्णको पहिलो र अत्यन्त पुजनीय मन्दिर यही बांकेबिहारी नै हुुनुपर्छ। च्याट जीपीटी पल्टाइ हेर्दा– बांकेबिहारीको यो मन्दिर १५००को दशक अर्थात् १६औं शताव्दीमा स्वामी हरिदाशले स्थापना गरेका; बांकेबिहारी श्रीकृष्णको स्वरुपलाईनै भनिएको; बांकाको मतलब त्रिभंग मुद्राका र बिहारी भन्नाले वृन्दावनका स्वामी मानिएको; मूर्ति अत्यन्त आकर्षक हुनाले एकैपटक लामो दर्शन नगराउन पर्दा खोल्ने र बन्दगर्ने ताकि झलक दर्शन वा झांकी दर्शन मात्र हुने; वर्षमा प्रभु प्रकटको दिन श्रावण शुक्ल द्वितीयामा मात्र आरती हुने; मूर्तिमा पूजा गरिने होइन श्रीकृष्णलाई सेवाकैरुपमा समर्पण गरिने र यहां धुमधामसंग मनाइने पर्वहरू– होली, झूलन यात्रा, जन्माष्टमी तथा कात्यायनी वत्रका दिनहरू हुन् भनिएको पाइन्छ। मेरी श्रीमतीको धेरैवर्षदेखिको धोको त्यहां जाने र धितमरुञ्जेल देवताको दर्शन गरुं भन्नेनै थियो। तद्अनुरुप गरियो पनि।

राधाबल्लभ मन्दिर पनि पुरानो एवं मूर्तिहरू पनि खास विशेषकै हुंदा त्यहां पुग्नु र भगवानको दर्शन पाउनु सौभाग्यनै हुन्छ। यस मन्दिरलाई वैष्णव मन्दिरहरू मध्येको प्राचिन र अत्यन्त प्रशिद्ध मानिन्छ। राधाबल्लभ सम्प्रदायका संस्थापक हित हरिवंश महाप्रभुले १६ औं शताव्दी तिर देखि मन्दिर निर्माण गराएका हुन् भनिन्छ। हालको रुपको मन्दिर भने अठारौं शताव्दीमा राजस्थानी शैलीमा बनेको हो अरे। राधा र कृष्णको ‘बल्लभ रुप’ मानेर राधाबल्लभ भनिएको ठानिन्छ। ‘राधाजीको प्रतिमा नबसेर फूलमालालाई राधाजीकारुपमा सम्मान गर्ने परम्परा सुरु भएको हो’ भनिएको छ। बिहान र सांझ आरती सेवा हुन्छ। सांझको श्रृङ्गार दर्शनमा भक्तजनहरू विशेष झुम्मिन्छन्। यहां झूलन यात्रा, जन्माष्टमी, राधाष्टमी, फूलवंगला तथा बसन्तोत्सवमा ठूला मेला लाग्छ भनिएको छ। यस मन्दिर बांकेबिहारी नजिकै हुंदा संगसंगै पैदलै दर्शन गर्न सकिन्छ।

अर्को दिन पुगेको निधिवन बेग्लै प्रकारको वन हो, अर्थात् अग्ला रुखहरूको घनापन नभईकन लता लहराले युक्त छोटा तर टेढामेढा र जोडी जोडीमा आपसमा गांसिएका घना बुट्यान हो। वृन्दावनमा यस स्थानलाई पवित्र, रहस्यमयी एवं लोकप्रिय मानिन्छ। जन विश्वास यस्तो छ कि, यहां राधा कृष्ण रातमा रासलीलामा रम्नुहुन्छ। तसर्थ रातमा यी बुट्यानहरूका रुप परिवर्तन हुन्छन् र संगै नाच्छन् अरे। राती निधिवनमा अपार उर्जा प्रकटहुने कारणले नै होला, रातमा सुरक्षाकर्मी लगायत कोही पनि यहां बस्दैनन् र बस्नु हुन्न भन्ने मान्यताको पालना हुंदै आएको छ। कतिसम्म भनिने रहेछ भने यहां सेवामा राखिएका भोग तथा पानी भोलीपल्ट कम भएको पाइन्छ। यस निधिवन ५००० वर्ष अघि देखिको तेजस्वी स्थल हो तर हालको स्वरुप भने १५÷१६ शताव्दीमा साधकहरूबाट निर्मित गरिएको हो अरे।

स्वयं उत्पन्न शालिग्राम रुपको भगवान कृष्णको पुराना एवं पवित्र मन्दिरहरू मध्ये वृन्दावनको अर्को मन्दिर राधारमण रहेछ। राधा र कृष्ण अभिवाज्य मानिएकाले यहां अलग अलग मूर्ति नभई एउटैलाई एकिकृतरुपमा राधारमण भनिएको छ। अर्को बाक्यमा राधारमणजीको मूर्ति स्वयं उत्पन्न भएकोले अत्यन्तै दूर्लभ मानिएको रहेछ। यस मन्दिर बांकेबिहारी नजिकै हुंदा ५–७ मिनेटको पैदल यात्रामै एक अर्का मन्दिर पुग्न सकिन्छ। यहां पनि वैशाख शुक्ल पूर्णिमाको दिन प्राकट्य उत्सव तथा जन्माष्टमी, गोवर्धन पूजा एवं झूलन महोत्सवहरू गरिने रहेछ।

कार्तिक २९का दिन हामी वृन्दावनबाट करिव ५० किलो मिटर पर वर्साना पुग्यौं। राधारानीको जन्म भएको, मथुरा जिल्लाको यस ब्रजभूमिमा सिंढीचढेर सानो थुम्कोमा रहेको अत्यन्त रमणीय लाडलीजी मन्दिर पुगिन्छ। यस मन्दिर परिवेशबाट तल चारैतिर नन्दगाउं विचरण गर्न सकिन्छ। वर्सानाको विशेष पहिचान नयां प्रकारले खेलिने लट्ठेमार होली हो भनिंदो रहेछ। राधाकृष्णको प्रेमलीला स्थलको रुपमा वर्सानाले पनि ख्याती कमाएको छ।

वृन्दावनबाट करिव २५ किलो मिटरमा पुगिने गोवर्धन पर्वत पनि यस भेगको नपुगी नहुने तीर्थ स्थल मानिन्छ। इन्द्रको अहंकार तोड्न र गोप गोपिनी एवं गाई बछेडाहरूको सुरक्षा खातिर श्रीकृष्णले उठाउनु भएको यस भूभागलाईनै गोवर्धन पर्वत भनिएको हो। यस पर्वतले ओगटेको भूभाग अर्थात् परिक्रमा व्यास २७ किलो मिटर लामो छ। परिक्रमा गर्दा पर्ने मुख्य स्थलहरूः दानघाटी, मानस गङ्गा, गोवर कुण्ड, राधाकुण्ड–श्यामकुण्ड आदि हुन्। पर्वत भनिए पनि ठूलो पाहाड नभई यो एउटा सानो थुम्किलो भूभागनै हो।

कार्तिक ३० गतेका दिन हामी गोकुल गएका थियौं। गोकुल नन्दबाबा यशोधा र बालक कृष्णको बसोबासको थलो हो। शान्त वातावरण, पुराना गल्ली एवं मन्दिरहरूले सुसज्जित यस भूभागमा कृष्णका धेरै बाललीलाहरू भएका हुन् र त आध्यात्मिक हिसाबले यस स्थानको बेग्लै विशेषता रहेकोले यहां भक्तहरूलाई कृष्णमय परिवेशको आभाष प्राप्त हुन्छ।

नन्दबाबा, यशोधा र कृष्णको बालपन वितेको स्थानमा नन्द भवन रहेको छ। यसै भवन वरिपरिका ग्रामीण घरहरूमै त कृष्णले मख्खन चोर्ने, खाने, ख्वाउने, साथीभाईहरूसंग बालकृडा गर्ने, साथीहरूसंग रम्ने आदि रहेको गोपाल लीलासंग सम्वन्धित मूर्तिहरू यहां रहेका छन्।
कृष्ण एवं बलराम आदिका बाल्यकालमा उफ्रने, खेल्ने, लुट्पुटिने स्थान रमण रेती रहेछ। रेती अर्थात् बालुवामा रमाएर लडिबुडी खेल्ने भएकोले रमण रेती भनियो होला। मानिसहरू खासगरी महिलाहरू आज पनि त्यहां लुटपुट गरिरहेका पाइयो। उनीहरूमा यसरी सो स्थानमा बालुवामा लोटाउने खेल्दा आध्यात्मिक शान्ति मिल्छ भन्ने विश्वास हुंदो रहेछ।

नन्द भवनको पश्चिम दिशातर्फ यमुना किनारमा ब्रह्माण्ड घाट छ। यही घाटमा बालकृष्णले माता यशोधालाई आफनो मुख भित्र ब्रह्माण्ड देखाउनु भएको हो भनिन्छ। तसर्थ यस पवित्र घाटलाई विशेष मानिने हुंदा नदीमा अर्चना गरी नुहाउने आदि प्रचलन त स्वाभाविकै हुने भयो।
नन्दबाबाले बनाएको प्राचिन महलको चौरासी खम्बे अवशेष हेर्न लायकको छ। ढुङ्गामा विष्णु, नरसिंह, शैव तथा मानव र अन्य विभिन्न आकृतिहरू कुंदिएका र वास्तुकलाका दृष्टिकोणले महत्वपूर्ण रहेका खम्बाहरू घरको कोठाहरूका लागि राखिने खम्बा भन्दा फरक ढंगले नजिक नजिकै राखिएका छन्। यस्तो लाग्छः विविध घटनाको कारणले समय समयमा भत्के, भत्काइएका मन्दिरहरूबाट संकलन गरेर एकै स्थानमा सुरक्षित राखिएको जस्तो।

श्रीकृष्ण र कंशको कथाहरूको सञ्जालले घेरिएको मथुरा हेर्ने, जान्ने उत्सुकता हुन्छ नै। यहां श्रीकृष्ण जन्मस्थान मन्दिर रहेको छ। भनिन्छ श्रीकृष्णका पनातीले जन्मस्थान मन्दिर ५००० वर्ष अघि बनाएका हुन्। विभिन्न घटनाक्रम पछि मन्दिर १७औं शताव्दीमा पुनः बनेको र २०औं शताव्दीमा पूनरनिर्माण भएको भनिएको छ। यही मन्दिरमा रहेको गर्भगृहमा श्रीकृष्ण जन्मिनुभएकोले यसको ठूलो महत्व रहेको हुंदा, जो कोही मथुरा शहर पुग्छन् भने यस मन्दिरमा गएर आफ्नो भक्ति अर्पण गर्ने गर्छन्।

सांझमा रंगिन प्रकाश परावर्तन गरिने समयमा प्रेम मन्दिर घुम्नु एवं सदभावपूर्वक विभिन्न मुद्राका राधाकृष्णमा समर्पण हुनको बेग्लै मजा हुंदो रहेछ। जगतगुरु कृपालुजी महाराजबाट सन् २००१ देखि निर्माण शुरु गराइएर २०१२ देखि सर्वसाधारणका लागि खुला गरिएको यस मन्दिर नागरशैली बास्तुकलामा इटालियन सिंहमरमरबाट बनाइएको रहेछ। यहां श्रीकृष्णले गोवर्धन पर्वत उचालेको, महारासलीला गरेको, राधाकृष्ण विभिन्न मुद्रामा नाचेको झांकीहरू, गाइ चरिरहेका सटिक आकृतिहरू, गीतको धुनमै नाच्ने फोहराहरू, स्वच्छ र आकर्षक बगैंचा आदि विना शुल्क सित्तैंमा गएर हेर्न सकिन्छ। क्या मज्ज्जा!

कार्तिक ३०को बिहान वृन्दावन स्थित इस्कोनले निर्माण गरेको चन्द्रोदय मन्दिरमा पुगियो। ७०० फिटकोे विश्वकै अग्लो मन्दिर बनाउने लक्षसाथ ४९३ रोपनी भन्दा वढी जग्गामा रहेको मन्दिरः द्वार परिवेशदेखीनै सौम्य, रमणीय र आल्हादित हुने खालको छ। मन्दिरसम्म पुग्न पनि कति मिनेट त दायां वायांका सौन्दर्य हेर्दै हिड्नु पर्छ। सामुन्नेको सफेद मन्दिरले टाढै देखि मन खिच्छ। मन्दिरमा माथी रहेका राधाकृष्णका मूर्ति धपक्क बलेका पाइन्छ। मूर्ति अगाडीको लामो खुला स्थानमा पलेंटी कसेर बसी वा जेष्ठ नागरिकहरू भने अलि पछाडी रहेको मेचमा बसेर आ–आफ्ना भावले आध्यात्मिक गुञ्जनको आनन्द लिन सक्छन्।

फर्कंदा ठूला जहाज चढन ढोका तर्फ जांदा हिंड्नु परेजस्तै विभिन्न तलामा हिंड्दै गर्दा आध्यात्मिक पुस्तक एवं राधाकृष्णका तस्वीरहरू एवं अन्य धार्मिक सरसामाग्रीहरू तथा केही अपरिहार्य घरमा प्रयोग हुने सामानहरू किनेर लग्न पाइने सुविधा रहेको छ। त्यहां राधा कृष्णका यस्ता राम्रा तस्वीरहरू छन् कि, नजिकै घर भएको भए हामीले कम्तिमा दुई चार थान किनेर ल्याउने थियौं। ठूलो लागतमा बनेको यस मन्दिरको दैनिक खर्चको जोहो सायद यस्ता विविध सरसामाग्री विक्रिबाट भर्ताल गर्ने योजना पो हो कि?

परम पुज्य सुधांशुजी महाराजबाट सन् १९९१मा विश्व जागृती मिशन स्थापना भएको रहेछ। सो संस्थाद्वारा वृन्दावनमा सञ्चालित श्री कृष्ण ध्यान योगको समापन समारोह पश्चात्, यसै दिन अपरान्ह हामी दिल्ली तर्फ प्रस्थान ग¥यौं।

विश्व जागृति मिशन र आनन्द धाम आश्रम
सांझमा हामी लोक नायकपुरम स्थित, सुधांशुजी महाराजद्वारा विश्व जागृती मिशनमार्फत् सन् २००३मा स्थापित आनन्द धाम आश्रम पुग्यौं। यस मिशनको थोरै कुरा गर्नु पर्दा भारतमा मात्रै ८६ वटा र भारत बाहिर बेलायत, अमेरिका, क्यानाडा, थाइल्याड, हङकङ, दुवई, इन्डोनेसिया, सिंगापुर तथा फिलिपिन्समा गरी १० भन्दा वढी केन्द्रहरू रहेकाछन् भनिएको छ। संस्थाको उद्देश्य व्यक्ति स्वजागरण भई सेवामा जीवन अर्पेर दिव्यतातर्फ उन्मुख हुन् भन्ने रहेको छ। अर्थात् आत्मालाई जगाएर विचारमा पवित्रता ल्याई व्यक्ति व्यक्तिद्वारा समाजलाई चेतनशील, उर्जाशील तथा नैतिकवान बनाउन अभिप्रेरित गर्ने हो। तसर्थ यस मिशन साधारण ध्यान गर्ने स्थान वा सत्सङ्ग मात्र नभई, बरु सेवा साधना तथा संस्कारको त्रिकोणात्मक जीवन पद्धतिको आभास गराउने स्थान हो। अतः हरेक व्यक्तिको भित्री चेतनाको प्रकाश प्रज्वलित भएमात्र वास्तविक सामाजिक रुपान्तरण हुन्छ भन्ने विश्वास मिशनको रहेको पाइयो।

१०३ रोपनी भन्दा बढी जमिनमा फैलिएको आनन्द धाम आश्रममा सिद्धिविनायक गणेश, चरणपादुका कुटी, शिववर्धन तीर्थ, कैलाश शीखर तथा मानसरोवरको झलक, कल्पबृक्ष वाटिका, पशुपति मन्दिर, नवग्रह शनि मन्दिर, गुफाध्यान केन्द्र, यज्ञशाला जस्ता स्थानहरूमा पूजा आहुती आदिमा दुइ दिन सम्मिलित हुंदा यस्तो वातावरण पाइयो कि जहांः माया, प्रेम, सद्भाव, शान्ति, उचित–अनुचितको भेद, आध्यात्मिक लय, धार्मिक झुकाव आदिमा मन त डोहोरियो। यहांका दिव्यलोक, श्रीनिकेतन, भक्त निवास एवं वरदान जेष्ठ नागरिक गृहहरूमा अनगिनत भक्तजनहरू तथा असहाय जेष्ठ नागरिकहरुलाई बसोबास गराउने क्षमता रहेको छ। करिव १५० जेष्ठ नागरिकहरू हाल यहां रहेका छन् भनियो। डेढसय जति गाई बाछ्छा रहेको गौशाला पनि यसमा अटेकै छ। हामी धामका प्रमुख व्यवस्थापक श्री एम.एल.तिवारीजीको आत्मियताबाट श्री शुधांसुजी माहाराजसंग केही समय बिताउंदै वात्शल्यतापूर्वक आशिर्वाद प्राप्त ग¥यौं र कृतकृत्य एवं आभारी बन्यौं।

बेतुकका कुरा
अव थोरै बेप्राशंगिक कुरा गरौं। सन् १९७० को गणतन्त्र दिवश समारोहमा सहभागि हुन भारतीय सेना (एन.सी.सी)को निमन्त्रणमा चार साताको भ्रमणनै मेरो पहिलो भारत टेकाई हो। त्यहां अमेरिका, बेलायत, इन्डोनेशिया, श्री लंका र नेपालका गरि १४ जना विदेशी एन.सी.सी. सहभागी क्याडेट मध्ये म एक थिएं। सो अवशरमा राष्ट्रपति भी भी गिरीसमक्ष आफ्नो परिचय दिन पाइएको तथा प्रधान मन्त्री इन्दिरा गान्धी निवासमा विहानको खाजा खादैं उहांसंग कुरागर्न पाइएको थियो। समारोह पश्चात् चन्दिगढ, आग्रा, फत्तेपुर, अजन्ता, एलोरा, पुणे हुंदै मुम्बईको एलिफान्टा केभसम्म घुरामर पुनः दिल्ली ल्याएर हामीलाई विदा गरिएको आदि इतिहासका कुरा भए।

त्यस पछि समयको अन्तरालमा कुनै न कुनै सिलसिलामा अनगिनत पटक भारत जाने आउने भएको छ। ठूलो बुबा नेपाली दूतावास, दिल्लीमा हुुनुहुंदा गएको, आफू मैशूर विश्वविद्यालयमा पुस्तकालय विज्ञान अध्यनार्थ गएको्, आध्यात्मिक भावनाले तीर्थहरू गएको अथवा त्रयसंस्था साझेदारी कार्यक्रम अन्तगर्तका बैठक, गोष्ठी, तालीम आदिमा गएको। तीर्थको कुरा गर्दाः चार धाम– बद्रीनाथ, जगन्नाथ, रामेश्वरम् एवं द्वारकाधाममा माथा टेकिएको छ। केदारनाथ तथा अमरनाथको पनि दर्शन गरिएको छ। कोलकाताकी काली तथा दिल्लीको हनुमान मन्दिर, बिरला मन्दिर, लोटस् मन्दिर एवं स्वामी नारायण अक्षर धाम पुगेकै हो। काश्मीर, चेन्नाइ, मुम्वई, कन्याकुमारी वरीपरिका उल्लेख्य मन्दिरहरू पुगेर दर्शन गरिएकै हो। राम जनमभूमि अयोध्या, काशी विश्वनाथ, बैश्णोदेवी, हरिद्वार, ह्षिकेश आदि पुगिएकै छ। गुवाहाटी स्थित कामाक्षा देवी वा दार्जलिङ र सिक्किमका केही मन्दिरहरू पनि गइएकै हो। नेपालको umnभारतको casaतथा बंगलादेशको ccdb गरी त्रय संस्था साझेदारी अन्तर्गत नेपाल, बंगलादेश र भारतमा हुने विविध साझा कार्यक्रमहरूमा पटक पटक नेपालबाट भारत तथा बंगलादेश जाने र अन्य दुईबाट त्यसै गरी नेपाल, भारत वा बंगलादेश जाने आउनेक्रम हुन्थ्यो। यस साझेदारी कार्यक्रममा विशेष गरि विपद् पूर्वतयारी, मानव तस्करी (खास गरी चेलीहरू), खाद्य सुरक्षा जस्ता तिनै देशका लागि उपयोगी हुने समसामयिक विषयहरू समावेश थिए। ती कार्यक्रमहरूमा नेपालको तर्फबाट सहजकर्ताको हैसियतले सन् १९९४ देखि २००२ सम्म सञ्चालित विविध कार्यक्रममा तिन देशमै सरिक हुने मौका मिलेको बखत पनि मन्दिरहरू पुगिन्थ्यो नै।

हृदयको निर्देश
मेरो भारत भ्रमणको ठूलो हिस्सा आध्यात्मिक पर्यटन भएकोले थोरै कुराहरू राख्न ह्ृदयले मलाई निर्देश ग¥यो। भारतका अधिकांश नामचलेका तीर्थस्थलहरू भ्रमण गरेर फर्कने जो कोही व्यक्तिहरू देव देवीमा पूजा, ढोगभेट आदिबाट जति आल्हादित भएका पाइयो, उत्तिनै जसो दर्शन पूजा पाठ गर्नमा भएको व्यवधानबाट पीडित रहेका पनि पाइयो। किन भनेर सोधीखोजी गर्दाः अव्यवस्थित दर्शन पद्धति, भक्तहरूको भावनालाई बेवास्ता गरिने, विभिन्न अडचन देखाएर पितृ उद्धारको नाममा विचौलियाले देव कार्य भनि रकममात्र थुत्ने काम गरिने, वाध्य पारेर केही न केही त लुट्ने लुट्ने जस्ता कुराहरू उल्लेख भए। धर्मका नाममा मानसिक तनाव दिने गर्छन्, भनियो। खासगरी बृद्धबृद्धा, महिला, बच्चाबच्ची बोकेका परिवारसंग रकम लुंड्याउन धोती लगाएका पण्डारुपी विचौलिया सक्रिय हुन्छन्। यी कुराहरूका साक्षी म स्वयं पनि हुं। विचौलियाबाट प्रत्यक्ष लुटिनेमा म थोरै हदमा मात्र परेको छु, तर मन खिन्न हुने गरी कठिनाई भने पटक पटक भोगेको छु।
किन यस्तो हुन थाल्यो त? मैले आफैंलाई प्रश्न गरें। मेरो अन्तरआत्माले भन्योः आध्यात्मिकतामा हस आयो। ॐ कार समुहका अथवा हामी सनातनीहरू ईश्वर आफूमै रहेको विश्वास गर्छौं। तथापी, भित्री स्वरुपलाई नबुझेर, ईश्वरसंग साक्ष्यात्कार हुन गुरु, पुरोहित, ध्यानी, योगीको सहारा लिंदै विभिन्न मन्दिर चाहार्छौं, पूजा पाठ अचर्ना गर्छौं। तर मन्दिरमै हामीलाई खुइल्याइन्छ भने आध्यात्मिकता कहां रह्यो? के यही हो हाम्रा पुर्खाले हामीलाई दिएको ज्ञान? हाम्रा ग्रन्थहरूले सिकाएको तत्ववोध? मानवता भनेको त ‘आफू मिटाई अरुलाई दिने हो’, त्यो खै त हाम्रा दैनिकतामा, व्यवहारमा, धर्ममा, आध्यात्मिकतामा?

निस्वार्थ रही, मानव एवं प्राणी सबैमा प्रेम एवं सदभाव राखी जगत कल्याणमा अहोरात्र खट्ने, श्री शुधांसुजी महाराज, श्री कृपालुजी महाराज, स्वामी राम देव, आचार्य बालकृण, साध्वी ऋृतंभरा, सद्गुरु मधुसुदन साई, इस्कोनका गौर गोपाल दास, नेपालका सद्गुरुहरू तथा अन्यान्य महामानवहरूका प्रयासबाट सेवामूलक अनेक संरचनाहरू निर्माण भएर व्यापक आध्यात्मिक जागरण हुनु के आश्चर्यजनक छैनन् र? व्यक्तिगत तवरबाट भएका यस्ता सेवामूलक कामसंग हाम्रा पुराना बांकेबिहारी जस्ता संस्था दांजिन सम्म पनि नसक्नु कस्तो विडम्बना???

विचचौलिया हटाउन वा व्यवस्थित गर्न नसकिने भन्ने हुंदैन

बांके बिहारी मन्दिरकै कुरा गर्दाः गुगलले दैनिक सरदर दर्शन गर्ने अंक सोध्दा हजारौं मात्र भन्यो भने च्याटजीपीटीले औसत दैनिक पचास हजार, साप्ताहिक विदामा सोको डबल एक लाख र होली, झूलन यात्रा, जन्माष्टमी तथा कात्यायनी वत्रका दिन जस्ता विशेष पर्वहरूमा ५ लाख सम्म भक्तालुले दर्शन गर्छन् भन्यो। यत्रा ठूला संख्याका तीर्थालुले अर्पण गरेका भेटीबाट के मात्रै गर्न सकिन्न होला र? जति भक्तहरूले देवतासमक्ष अर्पण गर्छन्, ती भन्दा कम्तिमा तिन गुणा वढी विचौलियाले कुम्ल्याउंछन् भनेर मानिसहरू लख काटछन्। विचौलियाले यस्तो गर्न पाउने कुरै हैन। राम्रो व्यवस्था मिलाएर दुई तीन तहको होचो अग्लो हारमा लामबद्ध गराएर हिंड्दै दर्शन गर्दै निक्लने गर्ने र विचौलियालाई छिर्न नदिने सजिलै गर्न सकिन्छ। फेरी भगवान सबैका लागि सदा हुुनुहुन्छ, तब दिनमा मन्दिरहरू किन बन्द राख्ने? विहान सबेरै देखि रातको ८ वजे सम्म खोली जो जति वेला पुग्छ उसलाई दर्शन गर्न दिंदा कसको के नै विग्रन्छ र?

अर्को पक्ष यस मन्दिरमा दर्शन गर्न जान सांघुरो र खुला ढल भएको दुर्गन्धे गल्ली हुंदै जानु पर्छ। किन यसलाई फराकिलो र व्यवस्थित गर्न सकिन्न? नोभेम्बरको सुख्खा महिनामा पनि मन्दिर जान लगाएको मोजा मन्दिरबाट फर्कंदा फाल्नै पर्ने अवस्थाको हुने रहेछ भने, वेस्कन गरममा वा वर्षात्मा लामो हारमा ठेलमठेल गरेर दर्शन गर्नपर्दा के कस्तो कठिनाई हुन्छ, सोचनीय छ। मन्दिर वरिपरिका टांसिएका घना घरहरू वातावरणीय दृष्टिमा आवासीय बसोवासको उपयुक्त थलो मान्न सकिएला र? सबै घरमा मिठाइ पसल, खुल्ला झिंगाभन्काएर राखिएका छन्, कत्तिको स्वस्थकर होलान्? धेरै कुराहरू प्रश्नवाचक देखियो।

नेपालको पशुपतिनाथको मन्दिर पनि आधाशताव्धी अघिसम्म यस्तै सांघुरो गल्ली र दुवै तर्फ स–साना फूल, पूजा सामाग्री, मिठाई तथा चिया खाजाका पसलले भरिएको थियो। यहां सरकारले हटाएर खुल्ला गरेको छ। गर्न चाहे सकिन्छः उदाहरण छंदै छ। हो यसो गर्नु पर्दा, त्यहां कमाएर परिवार पालिएकाहरूको पक्षबाट पनि हेर्नु पर्छ र सरकार वा समितिले स्वविवेक प्रयोग गरी परिवार संख्याको आधार र क्षेत्रफलको आकार हेरेर उपयुक्त मुआवजा भने दिनै पर्ने हुन्छ।

अनावश्यक, अनुपयुक्त, नचाहिने कृयाकलाप गर्नु गराउनु मानवोचित कार्य होइन। यी काम कुनै पनि व्यक्तिले गर्नै हुंदैन, कसैले गरेमा दण्डित हुनै पर्छ। तब, यस्ता बिचौलिया कार्यहरूलाई निष्तेज गर्ने काम प्रथमतः सरकारकै जिम्मेवारी हो। उदाहरणको लागि सरकारले चाहेमा जनहितको लागि पुरै बस्ती अन्य स्थानमा स्थानान्तरण गर्न सक्छ। देशबासीका सरसम्पती बृहद्हितका लागि जफत पनि गर्न सक्छ। दोश्रो जिम्मेवारी कुनै पनि आध्यात्मिक वा धार्मिक संस्था सञ्चालन गर्न जिम्मेवारी बोकेको विकास समिति होला, व्यवस्थापन समिति वा सञ्चाचलक समिति अथवा गुठी जस्ताका जिम्मेवार व्यक्तिहरूले धार्मिक आध्यात्मिक संस्थालाई सहीढंगले व्यवस्थापन गर्ने हो। कतिपय व्यक्तिहरू नेपाल तथा भारतका मन्दिर, देवालय, गुम्वा आदिमा अर्पण गरिने भेटीको उचित व्यवस्थापन गर्ने हो भने ठूला अस्पताल, शिक्षण संस्थाहरू निर्माण गरेर निशुल्क सेवा प्रदान गर्न सकिने आंकलन गर्छन्। यहां त दर्शन गर्न सम्म पनि सहि ढंगले व्यवस्थापन मिलाइएको पाईंदैन। अन्य सेवामूलक संस्थाको त के कुरा गर्ने र? कहां जान्छ होलाः लाखौं व्यक्तिले दैनिक चढाएको ढोगभेटीका रकमहरू? यस्तो लाग्छ, यदि सरकारले यहां हस्तक्षेप नगर्ने हो भने आज वा भोली कुनै न कुनै प्रकारको विष्फोट यहां हुंदैन भन्न सकिंदैन।

प्रकृतिबाटै दण्डित हुन नपरोस्
प्रकृतिले पनि एउटा हदसम्म सहन्छिन्। त्यसपछि कुनै न कुनै प्रकारको विपद्को रुप ग्रहण हुन सक्छ। हामीले सन् २०१९मा आएको कोरोना विर्संदै गएका छौं। त्यस्तै वा अन्य विपद् आएर कुनै भूभागलाई लपेट्यो भने मेरो थलो, म छोड्दिन भन्ने मौका कसैलाई हुन्छ र? तसर्थ, स्थानीयबासी, सरकार, संस्थाका सञ्चालक सबै पक्ष एकथलोमा बसेर यस्तो निचोड नाकाल्नु प¥यो ता कि भक्त वा जो कोही पनि आध्यात्मिकतामा रमाउन सकुन्, मन्दिर खुला र टाढैबाट देख्न सकियोस, दर्शन सबैका लागि छिटो र सर्वसुलभ होस्, त्यहां वरिपरिका बासिन्दा लगायत सबैको सदा हित होस्। अस्तु !