नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन प्रक्रिया अझै अन्योलमै रहँदा निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन् । एक सांसदका अनुसार दलको कार्यालयबाट औपचारिक सूचना पठाउँदै छलफलमा सहभागी हुन भनिएको हो । यसअघि रसाइलीले ४ चैतमै संसदीय दलको नेता चयन हुने कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए भने २ चैतमा निर्वाचन तालिका सार्वजनिक गरिने जानकारी पनि दिएका थिए । तर, हालसम्म कुनै औपचारिक कार्यतालिका सार्वजनिक गरिएको छैन ।
कार्यतालिका सार्वजनिक हुन ढिलाइ भइरहँदा कांग्रेसभित्रको आन्तरिक तयारी र सहमतिका प्रयासहरू अझै निष्कर्षमा नपुगेको संकेत देखिएको छ । यस्तो अवस्थामा बोलाइएको छलफललाई नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने तयारीका रूपमा हेरिएको छ ।


















