लिलामीमुखी राजनीतिले देश कहाँ पुराउला ?

नेपालको राजनीति आजभोलि कुनै सिद्धान्त, विचार र जनमतको जगमा उभिएको प्रणाली जस्तो लाग्दैन । बरु यो त एक यस्तो लिलामीघर जस्तो बनिसकेको छ, जहाँ सिद्धान्तभन्दा सौदा बलियो हुन्छ, नेतृत्वभन्दा लाभ ठूलो मानिन्छ, र देशभन्दा व्यक्तिगत स्वार्थको मूल्य धेरै राखिन्छ। लोकतन्त्रको बाटो समातेको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि नेपाली राजनीति अझै स्थिरता, उत्तरदायित्व र नैतिकताको आधारमा उभिन सकेको छैन। यसको कारण स्पष्ट छ—राजनीति नेतृत्वको जिम्मेवारी नभई सौदाबाजीको ‘बजार’ बन्दै जानु हो ।

नेपालमा सरकार बन्नु, भत्किनु, फेरि बन्नु—सबै कुरा सिद्धान्त र जनमतका आधारमा होइन, कुन समूहले कुन समूहलाई कति ‘रेट’मा मन पारायो वा मन नपरायो भन्ने सिद्धान्त अनुसार चलिरहेको छ। आज दलहरूबीचको गठबन्धन कुनै नीतिगत सहमति होइन, क्षणिक लाभको जोडघटाउ हो।
भोलि कसले कसलाई धोका देला भन्ने अनुमान गर्न सकिँदैन। नेताहरूको भाषणमा घनघोर परिवर्तनको सपना हुन्छ, तर काममा उनीहरू सबै एकै ठाउँमा पुग्छन् सत्ता र पदको भोग बिलासिपनमा ।

संसद जनताको आवाज उठाउने थलो, होइन, सौदाबाजीको डिल गर्ने घर बनेको छ । संसदीय बहुमत अब जनताको जनमतका आधारमा होइन, कुन दलका कति सांसद कति दिमागले र कति पैसाले थिच्न तयार छन् त्यसमा टिकेको छ। दल फुटाउने, सांसद किन्ने, समर्थन दिने–फर्काउने—यी सबै कुरा अब सामान्य जस्तै भइसकेको छ । कानून बनाउने ठाउँ नै अस्थिरताले ग्रस्त हुँदा राष्ट्रको दीर्घकालीन हितमा काम हुने सम्भावना स्वतः समाप्त नै भईसकेको छ ।

साथै, नैतिकता राजनीतिबाट हराइसकेको छ। एकातिर नेताहरू जनताको सेवा गर्ने दाबी गर्छन्, अर्कोतिर उनीहरूकै आचरणले राजनीति ‘लिलामीको घर’ हो भन्ने प्रमाण दिन्छ। चुनावताका जनता नै मालिक हुन्छन्, तर चुनाव सकिएपछि जनताको आवाज सुन्ने कोही हुँदैन। नेताहरूको प्राथमिकतामा जनताको समस्या होइन—आफ्नो गुट, आफ्नो पद, र आफ्नो भविष्य सुरक्षित गर्ने खेल अग्रस्थानमा हुन्छ। यही प्रवृत्तिले राजनीति राजनीति होइन, राजनीति व्यवसाय, ठेक्का, चलखेल र मिलेमतोतिर ढलेको छ।

राजनीतिक दलहरू बीचको प्रतिस्पर्धा अब विचारको होइन, प्रभावको हो। को–कुन प्रमुखसँग नजिक छ, को कुन सत्ताकेन्द्रमा प्रवेश पाउँछ, को कसको ‘डिल’मा बस्न सक्छ—यिनै कुराले आजका नेताहरूको प्रभाव नापिदै आएको छ । नेताहरूका लागि जनताको दुःख–पीडा, विकास–समृद्धि, सुशासन–यी शब्दहरू सिर्फ भाषणका लागि मात्र बाँकी रहेका छन्। राजनीति अब सेवाभाव नभई ‘कमाइखाने ठाउँ’ जस्तो बनाएकोे छ। लिलामीमुखी राजनीति केवल नेतृत्वविहीनता मात्र होइन, राष्ट्र विफलताको संकेत पनि हो। जसले चाह्यो, जति चाह्यो, जे चाह्यो—त्यही मूल्यमा राजनीति किनबेच भइरहेको छ भने जनताले लोकतन्त्रबाट के अपेक्षा राख्ने?

अब प्रश्न जनतामाथि पनि उभिन्छ—के हामी हरेक पटक त्यही ‘लिलामीको घर’ भित्र छिरेर त्यही पात्रहरूलाई फेरि–फेरि ‘कस्मेटिक परिवर्तन’को नाममा स्वीकार्दै बसिरहने? कि एकपटक वास्तविक राजनीतिको मूल्य बुझ्ने नेतृत्व जन्माउन तयार हुने ? नेपाल जोगिन्छ कि राजनीति चलाउनेहरूको सौदाबाजीले फेरि देशलाई पछाडि धकेल्छ, यो उत्तर आजका जनताहरूले दिनुपर्ने छ। लोकतन्त्र त जनताकै हातमा हुन्छ, तर राजनीति आज किनबेचको मैदान बन्नु भने जनताको मौन स्वीकृति पनि हो। जबसम्म जनताले ‘लिलामी’ बन्द गर्न खोज्दैनन्, राजनीति ‘बजार’ नै रहिरहन्छ र देश त्यही बजारको धुलोमा हराइरहन्छ ।
आजको सवाल केवल राजनीतिक बहस मात्र नभई, देशको भविष्यको सवाल पनि हो। जवाफ अहिलेका नेताबाट आउने छैन।

जवाफ जनताबाट, नयाँ पुस्ताबाट, र परिवर्तन खोज्ने आवाजबाट आउनेछ। देश अझै अल्झिन्छ कि उठ्छ–सोच्चे, उठ्ने र निर्णय गर्ने समय यही हो ।
अब देशले कुन बाटो समात्ने हो–यो सत्ताको हातमा होइन, नेतृत्व जन्माउने जनताको हातमा छ,र सत्य के हो भने–देश परिवर्तन हुने छैन यदि नेतृत्व परिवर्तन भएन भने ।