निर्वाचनको मिति नर्सान सरकारलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न चेतावनी दिएका छन् । शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले निर्वाचन सारिए र संविधान मिचिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।प्रचण्डले सरकारलाई निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न आग्रह गर्दै कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्न भनेका छन् ।
उनले त्यागको इतिहास र निष्ठा नभएका, अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर हेप्ने दुस्साहस गरेकोमा खबरदार भनेका छन् । उनले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताए ।
प्रचण्डले ६ महिना वा १ वर्ष समय थप्ने हल्ला आएमा देश फेरि दुर्घटनामा पर्ने र अबको दुर्घटनाको बेला नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने बताए । बरु ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलनको, विद्रोहको झण्डा बोकेर सडकमा आउने उनले घोषणा गरे ।