नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गरेको हो । भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
“तपाईंले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउन उल्लेखनीय भूमिका खेलेको छ”, बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भने, “जहाँ रहे पनि तपाईलाई असल मित्रका रुपमा सम्झिनेछौँ ।” सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वर्ष भएका अवसरमा विभिन्न कार्यक्रम भइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले त्यस्ता केही कार्यक्रममा आफू पनि सहभागी भएको जानकारी दिए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरे । उनले नेपाल चीनको एक असल छमेकी मित्रराष्ट्र रहेको र सदैव दुई देशले एकअर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात गरेको बताए ।
राजदूत सोङले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आवश्यक सहयोग गर्न चीन तयार रहेको पनि बताए ।


















