रुसियन हाउसमा “रिफ्लेक्सन–२०२५” फोटो प्रदर्शनी सम्पन्न

काठमाडौंस्थित रुसियन हाउसद्वारा आयोजित “रिफ्लेक्सन–२०२५” फोटो प्रदर्शनी तथा नववर्ष समारोह मंगलबार साँझ भव्य रूपमा सम्पन्न भएको छ। अपराह्न ४ बजेदेखि ६ बजेसम्म रुसियन हाउसको लबीमा आयोजित कार्यक्रममा कूटनीतिज्ञ, सांस्कृतिक अभियन्ता, साहित्यकार, वैज्ञानिक समुदाय, साझेदार संस्था तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि रुस महासंघको दूतावास, नेपालका मिनिस्टर–काउन्सेलर (चार्ज दे अफेयर्स) आन्द्रे युरेभिच किसेलेन्कोले गर्नुभएको थियो। उद्घ्घाटन समारोहमा रुसियन हाउसकी निर्देशक आनास्तासिया खोख्लोभा, मित्र कुञ्ज, नेपाल–रुस साहित्य समाज (Flexible), नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघ (Lchrib) र नेपाल–रुस विज्ञान समाज (Lchkru) का अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।

उद्घाटन मन्तव्यमा प्रमुख अतिथि किसेलेन्कोले नेपाल–रुस सम्बन्धलाई सुदृढ बनाउन सांस्कृतिक आदान–प्रदान र जनस्तरीय सहकार्यको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले भाषा, साहित्य, विज्ञान तथा संस्कृतिको प्रवद्र्धनमा रुसियन हाउस र साझेदार संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

कार्यक्रममा मित्र कुञ्जकी अध्यक्ष सुष्मा खत्रीले सांस्कृतिक संवादलाई निरन्तरता दिनु आजको आवश्यकता रहेको बताउनुभयो। नेपाल–रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहले साहित्य र साझा सांस्कृतिक विरासतले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो। त्यसैगरी नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष राजेन्द्र अधिकारीले नेपाल–रुसबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई थप सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

रुसियन हाउसकी निर्दे आनास्तासिया खोख्लोभाले स्वागत मन्तव्यका क्रममा “रिफ्लेक्सन–२०२५” फोटो प्रदर्शनीले बितेको वर्षका महत्वपूर्ण क्षण, सहकार्य र उपलब्धिहरूलाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको बताउनुभयो। उहाँले प्रदर्शनीले अतीतको स्मरण मात्र होइन, भविष्यका लागि नयाँ प्रेरणा पनि प्रदान गर्ने बताउनुभयो ।

औपचारिक कार्यक्रमको समापन समारोहमा आफ्नो मन्तव्य राख्दै नेपाल–रुस विज्ञान समाजका अध्यक्ष एवं पुर्वमन्त्री गणेश शाहले विज्ञान र शिक्षाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन सक्ने बताउनुभयो ।

सो अवसरमा आयोजक संस्थाहरूले अनाथालयका बालबालिकाका लागि जाडो कपडा सहयोग गर्ने उद्देश्यले सानो तर अर्थपूर्ण सहयोग संकलन अभियान पनि घोषणा गरेका थिए। चाडपर्वको समयमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सहभागीहरूलाई स्वेच्छिक सहयोगका लागि आग्रह गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “रिफ्लेक्सन–२०२५” फोटो प्रदर्शनी अवलोकन गरेका थिए। उक्त कार्यक्रमले वर्षको अन्त्यलाई आत्ममन्थन, मित्रता र सहकार्यको सन्देशसहित अर्थपूर्ण बनाउँदै नववर्ष २०२६ का लागि आशा र सकारात्मक ऊर्जाको वातावरण सिर्जना गरेको आयोजकहरूले बताएका छन्।