काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले आज सोमबार समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन् । आयोगले तोकेअनुसार समानुपातिक तर्फको बन्दसूची बुझाउन आज अन्तिम दिन भएकाले दलहरू त्यसैको गृहकार्यमा लागेका छन् ।
नेपाली कांग्रेसले आज दिउँसो १ बजेपछि समानुपातिक सूची बुझाउने जनाएको छ त्यस्तै एमाले पनि क्लस्टर अनुसार नामहरू मिलाउने काम जारी रहेकाले अपराह्न मात्रै आयोग जाने एक नेताले बताए ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले साँझ पाँच बजे आसपास आयोग पुग्ने बताएको छ ।
अर्को दल रास्वपा पनि अपराह्न मात्रै आयोग जाने तयारीमा छ । प्राइमरी इलेक्सन, पोल्टिकल प्रोक्सिमिटी, लिडरसिप एकेडेमीको रिजल्ट समिट गर्नुपर्ने भएकाले समय लाग्ने एक नेताले बताए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्द सुची टुङ्गो लगाउन ११ बजे बैठक बोलाएको छ । बैठकले नामहरू अन्तिम रूप दिएपछि क्लस्टर मिलाएर नामावली तयार गर्दा समय लाग्ने भएकाले अपराह्न मात्रै आयोगमा सूची बुझाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यसबाहेक अन्य राजनीतिक दलहरू पनि बन्द सूची बुझाउन अन्तिम गृहकार्यमा जुटेका छन् । आयोगले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि निर्धारण गरेको निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउन सुरु भएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ९३ वटा राजनीतिक दल समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन निवेदन दिएका थिए ।


















