नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो । मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘केही प्राविधिक विषय मिलाउन पर्दा ढिलाइ भयो ।
मंगलबार बिहान निर्वाचन आयोगमा बन्दसूची बुझायौँ,’ प्रवक्ता महतले भने । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले मंगलबार बिहानमात्रै बन्दसूची बुझाएको हो ।समानुपातिक सूचीमा राखिएको कांग्रेस सभापति देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा राति बन्दसूची तयार भए पनि बिहानमात्रै बुझाइएको हो ।
कांग्रसले ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा राखेको छैन। कांग्रेसको सूचीमा ५ प्रतिशतभन्दा बढी जेन–जीको प्रतिनिधित्व रहेको बताएको छ । कांग्रेसले संस्थापनपक्षलाई ६० र इतरपक्षलाई ४० प्रतिशतको भागबन्डा मिलाएर उम्मेदवार छनोट गरेको हो ।
समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ । कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जना कांग्रेसले राखेको छ ।


















