नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको ६ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ती जारी गरेका छन्।
बझाङका सभापति खडक बहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिम साउद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले विशेष महाधिवेशनको विपक्षमा संयुक्त विज्ञप्ती जारी गरेका हुन्।
कांग्रेसका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएकोमा कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।
त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते हुनेगरी विशेष महाधिवेशन आह्वान गरेका थिए।
सुदूरपश्चिमका ६ जना जिल्ला सभापतिहरूले भने विशेष महाधिवेशन आह्वानलाई विधान विपरीत भन्दै त्यसमा सहभागी नहुन आग्रह गरेको हो।
‘पदाधिकारी वा सदस्यले व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरित हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एंव शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एंव सदस्यहरुलाई हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ।
उनीहरूले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न पनि आह्वान गरेका छन्।


















