गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । सो पहिरोले रेमुनाङमा डेढ सय मिटरको ताल बनेको स्थानीयले रातोपाटीलाई जानकारी दिए । यो ताल फुट्न सक्ने भन्दै बुढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।
तर ताल एकै पटक फुट्यो भने असर गर्न सक्ने स्थानीयले बताए । ‘अहिले नै फुटिहाल्ने अवस्था छैन । उपकरण भयो भने खोल्न पनि सकिन्छ’, घटनास्थलबाट निमा दोर्जे भन्छन्, ‘अहिले असर नपरेपनि फुटिहाल्यो भने ठुलै बाढी आउँछ ।’
यो खोला बुढीगण्डकीको मुहान नजिक रहेको उनले रातोपाटीलाई जानकारी दिए । गोरखा प्रहरीले पनि पहिरो खसेको सूचना पाएको जनाएको छ । `सूचना आएको छ । अहिले नै ठुलो असर नहोला,´ गोरखा प्रहरीका प्रमुख एसपी अनिल खड्काले भने, `हामी सम्पर्कमै छौँ । आवश्यकता पर्यो भने सूचना जारी गर्छौँ ।´


















