नेपाली कांग्रेसले २१ फागुनको निर्वाचनअघि साझा राष्ट्रिय समझदारी आवश्यक रहेको जनाएको छ । जेनजी पुस्ताको परिवर्तनको आवाज सम्बोधन गर्न र संस्थागत गर्न त्यस्तो समझदारी आवश्यक रहेको कांग्रेसको भनाइ छ । दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगनकुमार थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा साझा राष्ट्रिय समझदारी निर्माण आवश्यक रहेको बताएका छन् ।
‘जेनजी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रुप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सुशासन लगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य-मान्यताविपरीत नगई रुपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचन भन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ ।’
उनले प्रतिवेदनमा जेनजी विद्रोहको भूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको उल्लेख गरेका छन् ।




















