सिन्धुलीको नेपाल एसबीआई बैंकको लुटपाट प्रकरण: धनीकै योजनामा

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस २९ गते भएको लुटपाट प्रकरणमा घर धनीकै योजनामा व्यवस्थापनमा भएको खुलासा भएको छ।

पुस २९ गते साँझ पौने ८ बजे भएको उक्त लुटपाट घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले घरधनी छविलाल स्याङ्तानसहित सात जनालाई पक्राउ गरेर हिरासतमा लिएको छ। जिप्रका सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनीहरू सातै जनाको भूमिका पनि खुलेको बताए ।

उक्त लुटमा संलग्न भएको अभियोगमा काभ्रेको बनेपा निवासी ४९ वर्षीय भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका निवासी ४७ वर्षीय चतुरमान बज्यु, चितवनको भरतपुरका २४ वर्षीय शशाङ्क श्रेष्ठ, नुवाकोटको पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी र १९ वर्षीय विवेक मगर पक्राउ परेका छन् ।

उता सिन्धुलीको घ्याङलेख–२ निवासी घरधनी ४४ वर्षीय छविलाल स्याङ्तान पनि समातिएका छन् । उक्त प्रकरणमा एक जना १६ वर्षीय किशोर पनि पक्राउ
परेको डीएसपी सुवेदीले बताए । एसबीआई बैंकबाट लुटिएको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ बरामद भइसकेको छ। प्रहरीले लुटका क्रममा प्रयोग गरेको पेस्तोल पनि नक्कली भएको पत्ता लगाएको छ ।

उनीहरूले लुटका क्रममा प्लास्टिकको पेस्तोल प्रयोग गरेको पाइएको छ। पेस्तोलसँगै नाङ्गो खुकुरी नचाउँदै उनीहरूले बैंकमा लुटेका थिए । प्रहरीले लुटपाटका क्रममा प्रयोग गरिएको नक्कली पेस्तोल र खुकुरी पनि बरामद गरेको बताए ।

प्रहरीले गरेको अनुसन्धानबाट बैंकको शाखाका घरधनी स्याङ्तानले लुटेरालाई हतियार व्यवस्थापन गर्न सघाएका थिए । सुवेदीका अनुसार स्याङ्तानकै योजना र निर्देशनमा बैंकमा लुट भएको हो । उनैले बैंक आसपासको अवस्थाबारे पनि रेक्की गर्दै बनेपाबाट सुमो रिजर्भ गरेर आएका समूहलाई खबर दिएका थिए ।

डीएसपी सुवेदीले यो घटनाको योजना गत असोजदेखि नै बनाइएको खुलेको बताएका छन् । ‘लुटको योजना चतुरमान बज्यु र घरमालिक स्याङ्तानले गत असोजदेखि बनाएका थिए’, उनले भने, ‘लुटेराहरू पुस २३ गते दुईवटा मोटरसाइकलमा काठमाडौंबाट सिन्धुली पुगेका थिए । तर मौका नमिलेपछि फर्किएका पाइएको छ ।’

उनका अनुसार दोस्रो प्रयासमा पुस २९ गते काठमाडौंको कोटेश्वरमा भेला भएर उनीहरू गाडी चढेर बनेपा पुगेका थिए । त्यसपछि त्यहाँबाट टाटा सुमो रिजर्भ गरेर बैंक लुट्न पुगेका सुवेदीले बताएका छन् ।

डीएसपी सुवेदीले अहिलेसम्म एसबीआई बैंकको शाखाबाट जम्मा ३ करोड ७ लाख रुपैयाँ लुटिएको खुलेको छ । पक्राउ परेका सातै जनाविरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डीएसपी सुवेदीले बताए ।