निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।
दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय आयोगले गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले गगनको पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको स्रोतले बतायो।
स्रोत अनुसार प्रमुख निर्वाचन आयुक्त भण्डारी र निर्वाचन आयुक्त सगुनशमशेर राणाले गगनको पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त जानकी तुलाधर विपक्षमा थिइन्।
आयोगको निर्णयविरूद्ध शेरबहादुर देउवा पक्षका कांग्रेस नेता तथा कार्यकर्ताले कान्तिपथ सडकमा नाराबाजी गरिरहेका छन्। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, प्रकाशशरण महत, एनपी साउद लगायतका कांग्रेस नेताहरू आयोग बाहिर कान्तिपथमै प्रदर्शन गरिरहेका छन्।
सभापति थापा लगायत नवनिर्वाचित कार्यसमितिले आफ्नो आधिकारिकता दाबी गर्दै बिहीबार दिउँसो निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न माग गरेको थियो। यसका लागि थापाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तथ्य, प्रमाण र कागजातहरू बुझाएका थिए।
त्यस्तै, कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतका नेता पनि सभापति शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै ‘आधिकारिक’ भएको जिकिर गर्दै शुक्रबार बिहान आयोग पुगेका थिए।
खड्काले पार्टीका निर्णयहरूसहित विभिन्न प्रतिवेदन र दस्तावेज आयोगमा बुझाएका थिए।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तको मुद्दा चुलिएको थियो। त्यसै क्रममा विशेष महाधिवेशन गर्ने कि चुनावअगाडि नियमित महाधिवेशन गर्ने भन्ने विवाद सुरू भयो। त्यही विवादबीच ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाए। पार्टी विधान अनुसार कम्तिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ।
तर पार्टी सभापति शेरबहादुर देउवा लगायत संस्थापन पक्षका नेता विशेष महाधिवेशन डाक्न तयार भएनन्। उनीहरूले पुस २६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए। तर त्यो कार्यतालिका अनुसार नियमित महाधिवेशन गर्न तदारूकता देखाएनन्।
त्यसै क्रममा फागुन २१ को आमनिर्वाचनपछि वैशाखमा मात्र नियमित महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले पास गर्यो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उक्त निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर विशेष महाधिवेशनको पक्षमा उभिए। अनि, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन अघि बढायो।
त्यसबीच महामन्त्रीद्वय र संस्थापन पक्षबीच सहमतिको निम्ति पटक पटक छलफल चल्यो। आखिरमा सभापति शेरबहादुर देउवासँग उनकै निवासमा भएको अन्तिम वार्ता निष्कर्षविहीन टुंगिएपछि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया अघि बढायो।
त्यही विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।


















