गगन थापा पक्षलाई बैधानिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवापक्ष भोलि नै सर्वोच्च अदालत जाने

काठमाडौँ । नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको बताए उनले भने, यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’
महतले आयोगको निर्णयविरुद्ध भोलि नै सर्वोच्च अदालत जाने बताउदै भने हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।’

महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए । ’हामीलाई बोलाउँदा पनि नबोलाई, हाम्रो पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी एकतर्फी रूपमा निर्णय गरियो,’ उनले भने ।