स्थानीय तहबाट राजीनामा दिँदै प्रतिनिधिसभाको उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहका कतिपय जनप्रतिनिधिहरू धमाधम पदबाट राजीनामा दिँदै उम्मेदवारी दर्तामा जुटेका छन् ।

महानगर, उपमहानगर, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराइरहेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएको छ ।

दमक नगरपालिका–८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले मनोनयन दर्ता गराएको हो । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँको प्रमुख निर्वाचित शाह अहिले प्रधानमन्त्रीको आकाङ्क्षा राख्दै राजनीतिमा प्रवेश गरेको हो । यही क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार रहेकाले सो निर्वाचन क्षेत्रलाई चासोका साथ हेरिएको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पनि पदबाट राजीनामा दिँदै चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेको छ । दुई कार्यकाल भरतपुरको नेतृत्व गरिसकेको दाहाललाई नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिँदै सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवार बनेको छ । विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत छन् । आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै आएका साम्पाङसँग धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष पदबाट राजीनामा दिँदै मनोज भट्टराईले प्रतिस्पर्धा गर्दै छन् । विसं २०७४ र २०७९ का स्थानीय तहको निर्वाचनमा लगातार दुईपटक वडाध्यक्ष निर्वाचित भएका भट्टराई नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बाट उम्मेदवार बनेको हो ।

यसरी स्थानीय तहका प्रमुख मात्र होइन, वडाध्यक्ष र वडा सदस्यहरू पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदैछन् ।

वीरगञ्ज महानगरपालिका–१० का अध्यक्ष सुशील साह कानु र वडा नं २० का अध्यक्ष रामकिशोर ९पराग० सिंह प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेको छ । कानु राष्ट्रिय स्वतन्त्र पार्टीबाट पर्सा क्षेत्र नं २ मा उम्मेदवार बनेको छभने सिंह उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा पनि दोस्रो कार्यकाल पूरा नगर्दै स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको छ । उनलाई नेकपा एमालेले उम्मेदवार बनाएको हो । त्यसैगरी ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको छ । थापालाई एमालेका तर्फबाट उम्मेदवार बनेको हो ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका प्रमुख असिम राईले पनि पदबाट राजीनामा दिँदै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सोलुखुम्बुको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेको छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसँगै स्थानीय तहको नेतृत्वमा छोटो समय काम गरेका जनप्रतिनिधिहरू सङ्घीय संसद्मार्फत सिधै सिंहदरबार पुग्ने लक्ष्यसहित प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । यसले आगामी निर्वाचनलाई थप प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाएको छ ।