skip this वडा नं १६ बालाजु च:मती

नयाँ आएपछि सबै ठिक हुन्छ जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै : विप्लव

 

१० माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पूराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताएका हुन् ।

 

‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाँही क्रान्तिकारी नारा होइन । यो चाहीँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसँगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नी । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो नि जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होइन,’ विप्लवले भने ।

अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी उनको थियो ।