नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पार्टी सञ्चालन एकलौटी ढंगले गरेको गम्भीर आरोप लगाएका छन् । निर्माणकै चरणमा रहेको पार्टीमा नेतृत्वको मनोमानी निर्णयका कारण संगठन नै भताभुंग बन्दै गएको उनले बताएका छन् । नेता खनालले पार्टी औपचारिक रूपमा निर्माण नहुँदै कारबाहीको क्रम सुरु हुनु चिन्ताजनक भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गर्दा आफूसहित अन्य शीर्ष नेताहरूसँग कुनै परामर्श नगरिएको उनको गुनासो छ ।
खनालले बामदेव गौतम, प्रकाश ज्वाला र हरिबोल गजुरेलजस्ता सम्भावना बोकेका नेताहरूलाई टिकट नदिनु दुःखद् भएको बताएका छन् । पार्टीका निर्णय र गतिविधिबारे आफूले सञ्चारमाध्यमबाट मात्र जानकारी पाउने गरेको भन्दै उनले २० वटा पार्टी–समूह मिलेर बनेको नेकपामा ठूलो सम्भावना भए पनि नेतृत्व असफलतातर्फ उन्मुख भएको दाबी गरेका छन् । टिकट वितरणमा संयोजक दाहालले तत्कालीन नेकपा (एकीकृत समाजवादी) पृष्ठभूमिका नेताहरूलाई उपेक्षा गरेको उनको आरोप छ । संगठन निर्माण पूरा नहुँदै निर्वाचनमा होमिनु परेको उल्लेख गर्दै नेता खनालले फागुन २१ पछि भने नेकपा राष्ट्रिय दलका रूपमा स्थापित हुने जिकिर गरेका छन् ।
अर्को प्रसंगमा, प्रतिनिधिसभा निर्वाचनमा आफू मानसिक, भौतिक र आर्थिक रूपमा तयार नभएकाले उम्मेदवार नबनेको उनले स्पष्ट पारेका छन् । भदौ २४ को ध्वंसात्मक आन्दोलनका दोषीमाथि कारबाही, लुटिएका हतियार फिर्ता र फरार कैदीबन्दी पक्राउ नहुँदासम्म निर्वाचन भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न हुनेमा विश्वस्त हुन नसकिने उनको भनाइ छ ।
















