सभापति थापा: कांग्रेससँग हिजोका सबै राम्रा कुरा छन्, खराब कुरा छाडेका छौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान कांग्रेसले विगतका सबै सकारात्मक पक्ष आत्मसात् गरेको र कमजोरीहरूलाई पूर्ण रूपमा छाडेको दाबी गरेका छन्। शुक्रबार सर्लाही-४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले कांग्रेसप्रति मतदातालाई विश्वस्त हुन आग्रह गरेका छन् । सभापति थापाले विगतलाई पूर्ण रूपमा नकार्न नसकिने उल्लेख गर्दै भने, ‘हिजोको कांग्रेसका सबै कुरा खराब हुँदैनन्। यदि हिजो सबै खराब हुन्थ्यो भने हाम्रो स्वास्थ्य, संस्कृति, धर्म, भगवान् र पितापुर्खासमेत खराब हुनुपर्ने हुन्थ्यो। तर त्यसो होइन।’

उनले कांग्रेसको ऐतिहासिक योगदानप्रति गर्व रहेको बताउँदै त्यसलाई परम्परा र संस्कृतिको रूपमा निरन्तरता दिइने स्पष्ट पारे। सभापति थापाले विगतका कमजोरीहरू भने अब दोहोरिन नदिने प्रतिबद्धता जनाए। “हिजोका खराब कुरालाई मात्रै छाड्ने हो, नयाँ समयको नयाँ मागलाई हेर्ने हो,” उनले स्पष्ट गरे।

उनका अनुसार वर्तमान कांग्रेस स्पष्ट दृष्टिकोण र पाँच वर्षे योजनासहित अघि बढिरहेको छ। “यो कांग्रेससँग देश बदल्ने सोच छ। हिजोका गल्ती र कमजोरीहरू अब दोहोरिँदैनन्,” उनले भने।