नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा विदेशी शक्तिको प्रभाव बढ्दै गएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पोखरेलले जेनजी आन्दोलनपछि देशमा विदेशी स्वार्थअनुसारको कठपुतली सरकार निर्माण भएको टिप्पणी गरेका हुन् । उनले निर्वाचनपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जस्तै नेतृत्व निर्माण गर्ने प्रयास भइरहेको आरोप लगाएका छन् । उनका अनुसार यो अभियान भविष्यमा पनि निरन्तरता दिने योजनासहित अघि बढाइएको छ ।
उनले यस्ता विदेशी षड्यन्त्रहरूलाई सफल हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । नेपाललाई चीन र भारतविरुद्ध शक्ति राष्ट्रहरूको चलखेल गर्ने अखडा बनाउने प्रयास अस्वीकार्य हुने उनको भनाइ थियो । पोखरेलले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा गर्न सचेत र संगठित रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।


















