शालीनदी, माघ स्नान र स्वस्थानी

 

स्नान, दानको कुरो
यस वर्षको स्वस्थानी व्रत, माघमेला भाेिल माघ १८ देखि समापन हुँदैछ । साँखु बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र रहेको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदी क्षेत्रले चिनिन्छ । पंक्तिकारले बच्पनदेखि नै यहाँ हुने मेलाका बारे प्रत्यक्षः नियाल्ने गरेको छ । केटाकेटी उमेरको झल्को आउँछ महिनाभरिको मेलामा हजारको अँकमा मात्र दान भेटी खर्च वर्चको कुरा हुन्थ्यो, अब त करोड नाघेको छ । कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्व विशेषको तीर्थ स्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेकाछन् । स्वस्थानी श्रवण, माघ स्नान एवं शालिनदी लगायत विभिन्न क्षेत्रहरुमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्वापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो । स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सवै पवित्र बन्छ । बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको अधिक महत्व छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्कामभावले स्नान गरे जीवनमा परमगति प्राप्त हुन्छ । अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने माघस्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् ।
माघ स्नान बारेको प्राचीन कथा ः
एकपटक पृथ्वीमा लामो समयसम्म वर्षा भएन । सबैले धेरै कष्ट पाए । सम्पूर्ण, वन, वनस्पतिहरु उजाड हुन थाले । फलपूmल, अनाज उव्जनी नहुँदा सबै प्राणीहरुलाई धेरै ठूलो समस्या प–यो, अकाल मृत्यु हुन थाल्यो, समस्त भूमण्डलमाा हाहाकार मच्चियो । नर्मदा नदी तटमा एउटा आश्रम बनाई आफ्ना शिष्यहरुका साथ महर्षि भृगु बस्थे । आश्रम बस्न योग्य नहुने भयो । कैलाश गिरीको पश्चिम मणिकुट नामक पर्वततिर महर्षि भृगु बस्न थाले । हिमालय पर्वतको सोक्षेत्र सुन, हिरा, मणि, जुहारात आदि रत्नले पूर्ण थियो । अनिकालको बेला यही आश्रम बनाउनु उनले उत्तम ठाने । धेरै समय यसै आश्रममा रहंदा एकपटक उनी समक्ष त्यसै पर्वतबाट झरेर विद्याधर तथा उनकी पत्नी भेट्न आए । दुई दम्पत्ती अत्यन्त मलीन र दुःखी देखिए । महर्षि भृगुले प्रश्न गरे – तिमी जोडी किन यति दुःखी छौ ? विद्याधरले जवाफ दिए, हाम्रो पुण्यको प्रभावले देवलोक पुग्यौँ । यी मेरी पत्नी रुप र लावण्यले धमक्क बलेकी छिन् तर कुन दुष्कर्मको फलले हो मेरो रुप भने बाघको जस्तो नराम्रो छ । यिनको तुलनामा म नराम्रो छु र धेरै दुःखी छु । मलाई शान्ति छैन । मनमनले म सदा जलिरहेको छु । कसो गरु ? भृगु त्रिकालदर्शी थिए, भन्न लागे – सुन विद्याधर नराम्रो कामको परिणाम सानै किन नहोस्, नराम्रै हुन्छ, तिमीले पूर्वजन्ममा माघमहिनाको एकादशीको व्रत गरेछौ, भोलिपल्ट द्वादशीको दिन शरीरमा तेलको सेवन गरेछौ, एकादशीको व्रत गरेर द्वाशीमा तेल सेवन गर्नाले अघि इलानन्दन पुरुरवाको हालत पनि यस्तै भएको थियो ।
उनले हिमालयबाट निस्केकी गंगामा स्नान गरेर त्यो दोष निवारण गरेका थिए । तिमी पनि त्यसै गर । विद्याधरले यो कुरा सुन्नासाथ सम्पूर्ण इन्द्र्रियलाई निग्रह गरेर, कुसासनमा बसेर, हिर्दयमा भगवान्को ध्यान गरेर, श्रीविग्रहयुक्त नीलमेघ समान श्यामवर्ण, कमलको समान नेत्र, दुई हालतमा शंख, चक्र र हातमा गदा र पद्यले युक्त, पिताम्बरधारी, कौस्तुभमणिले युक्त, गलामा वनमालाधारी भगवान् विष्णुको स्वरुपलाई संझेर, प्राण वायुलाई खिचेर, नाकको अगाडि भागमा दृष्टि दिएर, कुण्डलिनी शक्तिलाई उठाएर सुषुम्ना नाडीमा प्रवेश गराएर एक महिनासम्म निराहार कठिन तपस्या गरे । थोरै दिनमै ईश्वर प्रसन्न भएर ७ जन्मको आराधनाको अभिलेखलाई समेत हेरेर स्वयं भगवान् विष्णुले प्रत्यक्ष दर्शन दिनुभयो । त्यसदिन संयोगले माघशुक्ल पक्षको द्वादशी परेछ । सूर्य मकरराशिमा रहेछन् । विष्णुले शंखजल दिनासाथ महाराजा पुरुरवाले सुन्दर शरीर पाएछन् । रुप मनोहर भएकाले स्वर्गकी अप्सरा आकर्षित भई ऊर्वशीले उनीसंग बिहा गरिछन् । विद्याधर तिमी पनि त्यसै गर । माघमहिना नजिक आइरहेछ । माघको स्नानले सम्पूर्ण पापहरु नष्ट हुन्छन् ।
पुष्कर, काशी, प्रयाग, गंगासागरमा १० वर्षसम्म गरेको पुण्य माघ महिनाको ३ दिनको स्नानले प्राप्त हुन्छ । अक्षय पुण्य चाहनेले त मकर राशिमा सूर्य रहेको यो माघ महिनाभरि नै प्रातः स्नान गर्नुपर्छ । यसबाट आयु, आरोग्य, रुप, सौभाग्य, उत्तम गुण समेत प्राप्त हुन्छ । नरकको यातना र दरिद्रताको भय नचाहनेले यो व्रतको महिमालाई स्वीकार गर्नै पर्छ । कामधेनुले इच्छा पूरा गरेभैmँ माघ स्नानले आयु, धन दुवै वृद्धि हुन्छ । सत्ययुगमा तपस्याको, त्रेतायुगमा ज्ञानको, द्वापरमा पूजाको महत्व भए भैmँ कलिमा दानको महत्व छ र सबै युगको कर्मको महत्व माघ स्नानले बढी छ । विद्याधरले माघस्नान गरे देवमुख प्राप्त गरेर आनन्दपूर्वक मणि पर्वतमा रहे । उता महर्षि भृगु सो आश्रमतर्पm फर्के । माघ मासमा शालिनदीको स्नान विशेष रुपमा पुण्यदायी मानिन्छ । काठमाडौँको पूर्वउत्तरतर्पm रहेको साँखुक्षेत्रमा पर्ने शालिनदीमा अघि चन्द्रावतीले स्नान गरेर आपूmले सुखभोग प्राप्त गरेकी थिइन् । चन्द्रावती बस्ने सानो कुटी (छाप्रो) अभैm देखिन्छ । शालिनदीक्षेत्रमा हरिहर, माधवनारायणका शिला एवं मूर्तिहरु रहेका छन् । गरुड, हनुमान, सत्यनारायण आदि र ठूला, साना सत्तल, पाटीहरु पनि छन् । त्यहाँ श्रीस्वस्थानीको विशेष आराधना, पूजा हुने गर्छ । व्रतालुहरु धेरै हुन्छन् । सुवर्णवर्णकी, त्रिनेत्रधारी, प्रसन्नमुद्रामा रहेकी, कमलनयनी, सिंहासनमा बसेकी, चारहात भएकी सम्पूर्ण भक्तहरुको इच्छापूर्ति गर्ने देवीका रुपमा श्री स्वस्थानीको व्रत–उपासना गरिन्छ ।
शालीनदी थप चर्चा
साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र रहेको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदीक्षेत्रले चिनिन्छ । साँखुबजारबाट शालीनदीक्षेत्र हुँदै पालुबारी एवं नगरकोट–तेलकोट हुँदै भक्तपुर जोड्ने सडक बनेको छ । शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो । पौषशुक्लपूर्णिमादेखि माघशुक्लपूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दुधर्मावलम्बीहरूका घरघरमा श्री स्वस्थानीदेवीको व्रतउपासना गर्ने, स्वस्थानीकथा भन्ने, सुन्ने चलन रहेको छ । स्वस्थानीव्रतकथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ । शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास गरिन्छ । अघि यहीँ व्रतउपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् ।
शालीनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्यदेशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीकोउपासना शालीनदीक्षेत्रमा बसेर गर्ने गर्छन् । वर्षेनी हज्जाराँैं व्रतालुहरू शालीनदीमा स्नान गर्ने गर्छन् । हातगोडाको नङ काटी, शुद्ध भई, एकभक्तिले रही, नित्य महादेवको पूजा गरी, ठूलो उत्साहका साथ व्रत उपासना गर्छन् । तिनीहरू ब्रतकै क्रममा चाँगुनारायण, पनौती, पशुपतिक्षेत्रसम्म पुग्छन् । व्रतप्रतिष्ठा गर्दै माघशुक्लपूर्णिमामा श्रीस्वस्थानीदेवीको व्रत साङ्गे गरी विशेष यज्ञ समेत गर्छन् । माघमहिनामा शालीनदीक्षेत्र साँखुशहर नयाँदुलहीझैंँ झपक्क सिँंगारिएको हुन्छ । साँखुलाई पहिले लावण्यदेश भनिन्थ्यो । नवराज राजाले राज्य गरेको क्षेत्र अहिले पनि सुन्दर छ । कुनैबेला यहाँ शंखदेवनामक राजाले राज्य गरेका थिए भन्ने भनाइ छ । यसअर्थमा यहाँको नाम शंखपुर र पछि शंखरापुर भनिन थाल्यो । शंखरापुर पछि अपभ्रंश हुँदै साँखु नामले चिनिन पुग्यो ।
शालीनदीक्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूला–ठूला पाटी र सत्तलहरू छन् । यहाँं सधैंजसो कथाप्रवचनहरू भैरहन्छन् । ४ सय मिटरजति दक्षिण समथरक्षेत्रमा चन्द्रावतीको शिला छ । स्वस्थानीकथाअनुसार यहाँं चन्द्रावतीलाई डोलीमा बोकेर ल्याउँदा हावा–हुरीमा परी लडेका डोलेका शिलाहरू पनि छन् । चन्द्रावती बस्ने सानो छाप्रो (कुटी) पनि छ । स्वर्गदेखि अप्सराहरू आएर यहाँ माघस्नान र श्रीस्वस्थानीदेवीको पूजाउपासना गरेकाले यो क्षेत्र पुण्यक्षेत्र भएको हो । यसैक्षेत्रमा बसेर चन्द्रावतीले स्वस्थानीदेवीको उपासना गरेकी हुन् । स्वस्थानीदेवीको स्वरूप यस्तो छ । सुवर्णवर्णकी, तीननेत्रधारी, प्रसन्नमुद्रामा रहेकी, कमलनयनी, सिंँहासनमा बसेकी, ४ हात भएकी देवीले सम्पूर्ण भक्तहरूको मनोकाङक्षा पूरा गर्छिन् भन्ने जनविश्वास रहेको छ । एक हातमा नीलकमल, अर्काे हातमा शंख र अर्काे हातमा ढाल अनि अर्काे हातमा वरदमुद्रा लिएकी देवीले आमभक्तहरूको सदिच्छालाई साकार पार्छिन् । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्यूत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीयआचरण, मर्यादाअनुकुलको विधिव्यवहार गर्न सकेमा सबैतिरका जनताको कल्याण हुन्छ ।
साँखु (शंखरापुर) प्राचीन समयदेखि नै पावनक्षेत्र हो । काठमाडौँको उत्तरपूर्वी क्षेत्र साँखु सिन्धुपाल्चोक जिल्ला–लप्सेफेदी– नाङ्गलेभारे– फटकशिलातर्फ जाने प्रवेशद्वार नै हो । बजारको उत्तरढोका बाहिरपट्टि प्रसिद्ध ६४ ज्योतिर्लिङ्ग मध्येको पावन ज्योतिर्लिङ्गेश्वरमन्दिर रहेको छ । परम्परागतशैलीमा निर्मित यो मन्दिरमा सुनको जलप लगाइएको गजुर छ । इँटाको गाह्रो, झिँगटीको छानो भएको दुईतले कलात्मकमन्दिरलाई ज्योतिर्लिङ्गेश्वरमन्दिरको नामले चिनिन्छ । नित्य पूजा–आरती भइरहने यो मन्दिरको पूर्व, दक्षिण र उत्तर समेत तीनैतिर सडकले छोएको छ भने उत्तरपट्टि खालि जमिन कैलाशक्षेत्र छ । गणेश, शिव, देवीहरूका मन्दिर पनि रहेको यो क्षेत्रमा शालीनदी स्नान गरी यहाँ विशेष पूजा गर्नेहरूको भीड लाग्छ । शिव र शक्तिको संयुक्त उपासना गर्ने नेपाली परम्परा अनुसार शिवजीे विराजमान रहनुभएको यो क्षेत्रमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । वैशाखशुक्लपूर्णिमाका दिन यस मन्दिरपरिसरमा विशेष पर्वपूजा हुने गर्छ । स्कन्दपुराण, हिमवत्खण्ड, नेपालमाहात्म्य अध्याय १२२ अनुसार सनातनकुमारले विशेष व्रतउपासना गरेपछि शिवजी खुसी भएर वरदान माग्न भन्नुभयो । साथै सनातनकुमारलाई चिरञ्जीवी हुने वरदान पनि दिनुभयो । सुरुमा ब्रह्माजीबाट सृष्टि भएका छ कुमारमध्येका सनातनकुमारले शिला स्थापना गरी यहाँ बसेर शिवजीको तप गर्नुभएको थियो । शिव प्रकट भई सनातनकुमारलाई वरदान दिएपछि सनातनकुमारले स्थापना गरेका शिलाको नाम ज्योर्तिर्लिङ्गेश्वर भएको हो । एकपटक आफ्नो कर्तव्यच्यूत भएर कुसङ्गतका कारण दुराचारी भएका एक ब्राह्मण मृत्युपछि चराको मुख लिएर अशुचियोनिमा जन्म लिन पुगेछन् । के कारणले चराको जस्तो मुख भएको अशुचियोनिमा जन्म भएको होला भन्ने खोज अनुसन्धान गर्ने क्रममा उनले एक त्रिकालदर्शी ब्राह्मणलाई भेटेछन् । पूर्वजन्ममा आपूmले गम्यागम्य, भक्षाभक्ष, पाप–पुण्यको कुनै परवाह नगरेका कारण यस्तो भएको कुरो ज्ञात भएपछि त्रिकालदर्शी ब्राह्मणको उपदेशअनुसार यसै ज्योतिर्लिङ्गेश्वरको उपासना गरेर आपूm शुद्ध भएछन् । त्यसैबेलादेखि यस शिवलिङ्गको उपासना गर्न थालिएछ । आफ्नो शरीर शुद्ध र मन पवित्र राख्न चाहनेहरू यहाँ दर्शन, पूजा–आरती, रुद्रीपाठ गर्न जान्छन् ।

लेखक धर्म संस्कृतिका अध्येता हुनुहुन्छ