हिलो र गोबरसँग साइनो नभएकाले मेरो आलोचना गरेः अशिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–१ मा उम्मेदवार रहेकी आशिका तामाङले हिलो र गोबरसँग कुनै साइनो नभएकाहरूले आफ्नो आलोचना गरेको बताएकी छिन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्- ‘म धादिङको मलेखुमा जन्मिएकी एउटी सामान्य होइन, अत्यन्तै न्यून स्तरको परिवारबाट सङ्घर्ष गर्दै आएकी किसानकी छोरी हुँ। मेरो बाल्यकालका स्मृतिहरू महलका भित्ताहरूमा होइन, मलेखुका तिनै उकाली–ओराली र अर्काको बारीका कान्लाहरूमा कोरिएका छन्। आज मेरो एउटा स्वाभाविक क्रियाकलापलाई लिएर विपक्षीहरूले मसला बनाउँदै व्यङ्ग्य गरिरहँदा मलाई ती आलोचकहरूसँग कुनै गुनासो छैन । किनकि जसले कहिल्यै हिलो र गोबरसँग साइनो गाँसेको छैन, उसले यसको मर्म कहिल्यै बुझ्न सक्दैन।’

‘मेरा पूजनीय बुबाले आफ्नो सारा जीवन अर्काकै घरमा बसेर र अर्काकै खेतबारी पसिनाले भिजाएर बिताउनुभयो। आफ्नो भन्ने घरसम्म नभएको त्यो कठिन अवस्थामा बुबाले अर्काको घरमा हली बसेर हामीलाई हुर्काउनुभयो। हाम्रो परिवारको गर्जो तिनै गोठका बाख्रा र खोरका कुखुराहरूले टार्थे। नेपालका तमाम कृषकहरूका लागि ती पशुपन्छी केवल जनावर होइनन्, आफ्नै काखका सन्तान जस्तै हुन्। बिहान उठ्ने बित्तिकै भालेको डाँकसँगै सुरु हुने हाम्रो दिनचर्या बाख्राका पाठापाठीको म्याँ-म्याँ आवाजमै रमाउँथ्यो।’

‘जब घरको समस्या टार्न आफूले काखमा खेलाएको पाठो बेच्नुपर्थ्यो, तब बुबा र मेरो मन कति रुन्थ्यो। आफ्नै सन्तान झैँ माया गरेर हुर्काएको जीवलाई पैसासँग साट्नुपर्दाको त्यो पीडा धादिङको मात्र होइन, सम्पूर्ण नेपाली किसानका आँखामा आज पनि झल्किन्छ’, उनले भनेकी छिन् ।

तामाङ थप लेख्छिन्– ‘विपक्षी साथीहरूलाई मेरो एउटै अनुरोध छ मेरो विरुद्ध भ्रम छर्नु र मेरो धरातललाई गिज्याउनु सट्टा आफ्ना एजेन्डा सहित जनताको घरदैलोमा जानुहोस्। मेरो विरोध गर्नुभन्दा पहिले विगतमा तपाईँहरूले गरेको भ्रष्टाचार र जनतामाथि थोपरेको पापको माफी माग्नुहोस्। तपाईँहरूले मान्छेलाई सधैँ भोटको साधन मात्र बनाउनुभयो, तर अब सचेत जनताले तपाईँहरूको भ्रम बुझिसकेका छन्। ​मलाई मेरो धरातल र मेरा किसान दाजुभाइ, दिदीबहिनीहरूको अभाव बिर्सने छुट छैन।