बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन लागेको भन्ने हल्लालाई नेपाल आयल निगमले तथ्यांकसहित खण्डन गरेको छ। निगमले हाल देशभर ग्यास आपूर्ति मागभन्दा बढी रहेको जनाएको छ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार नेपालमा दैनिक औसत करिब ९० बुलेट (१ लाख १४ हजार सिलिन्डर) ग्यासको माग रहेकामा इन्डियन आयल कर्पोरेसनबाट पछिल्ला दिनमा यसभन्दा धेरै परिमाणमा ग्यास लोडिङ भइरहेको छ। शनिबार १ सय १८, सोमबार १ सय १५ र मंगलबार १ सय ३२ बुलेट ग्यास लोडिङ भएको निगमले जानकारी दिएको छ। लोडिङ भएका ग्यास बुलेटमध्ये केही नेपाल भित्रिसकेको र बाँकी बाटोमै रहेको भन्दै भट्टले आगामी निर्वाचन अवधिभरि पनि नियमित रूपमा ग्यास आपूर्ति हुने विश्वास दिलाए।
ग्यास पर्याप्त रहेकाले अभावको डरले अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ। निगमका अनुसार अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब सिर्जना हुने भएकाले ढुक्क भएर सामान्य रूपमा ग्यास प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरिएको छ।


















