हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, कसले कहिलेसम्म आवेदन दिन पाउने ?

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो। यसमध्ये दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता छुट्याइएको छ। स्थानीयले कात्तिक २५ देखि ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ। उनीहरूले कात्तिक १६ देखि २५ गतेसम्म मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। कम्पनीको सेयर बिक्री प्रबन्धक सिटिजन क्यापिटल रहेको छ। इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको कम्पनीले दोलखामा २० मेगावाटको साँगुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ, प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा र सञ्चित नाफा १६ करोड ५२ लाख रुपैयाँ रहेको छ।