नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकले जोड्ने आफ्नो सपना रहेको बताएका छन् ।
पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म जोडेर पिच गर्ने सपना रहेको बताएका हुन् ।
त्यसपछि मैकोटलगायतका क्षेत्र पर्यटकीय केन्द्रका रूपमा विकास हुने उनको अनुमान छ ।सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरुको सम्झनामा ‘शहीद मार्ग’ बनाउन सुरु गरिएको उनले बताए । प्रचण्डले भने, ‘मैले नै प्रस्ताव गरेको मार्ग हो यो शहीद मार्ग । जनयुद्धकै बेलामा अब शहीदहरूको नाममा एउटा बाटो दक्षिणदेखि उत्तरसम्म जाने मार्ग सुरु गर्नुपर्छ भनेर प्रस्ताव गयौँ । पार्टीबाट निर्णय भयो, जनतालाई आह्वान गरियो र जनताले स्वेच्छिक रूपमा खन्न सुरु गर्नुभयो ।’


















