बलियो सरकार बनाएर सुकुम्बासी समस्या समाधान गर्ने रवि लामिछानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा बलियो सरकार बन्ने र जनताका दीर्घकालीन समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्। सोमबार चितवनको कालिका नगरपालिका-३ मा आयोजित स्थानीय अन्तरक्रिया कार्यक्रममा उनले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनेको दाबी गरेका हुन् । उनले भने,“पहिला चितवनमा सुरु गर्दा त्यति माहोल थिएन, तर अब परिस्थिति फेरिएको छ। बलियो सरकार बन्छ भन्ने आशा जागेको छ ।”

लामिछानेले यसअघि सरकारमा रहँदा जनताका समस्यामा काम गर्ने प्रयास गरेको तर संरचनागत जटिलता र सीमितताका कारण सबै अपेक्षा पूरा गर्न नसकिएको स्वीकार गरे। आगामी निर्वाचनपछि स्पष्ट जनादेश पाए निर्णायक ढंगले काम गर्ने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा स्थानीय बासिन्दाले सुकुम्बासी समस्या समाधानका लागि वर्षौंदेखि आश्वासन मात्र पाएको गुनासो गरेका थिए। त्यसप्रति ध्यानाकर्षण गर्दै लामिछानेले आफू यो विषयमा पहिलेदेखि जानकार रहेको बताए। “नेताले बोल्ने होइन, काम गरेर देखाउनुपर्छ,” उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल आवश्यक छ।” चितवनमा चुनावी सरगर्मी बढिरहेका बेला लामिछानेले स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन्।