भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरमा मङ्गलबार साँझ भीमसेनको लिङ्गलाई झुण्ड्याएर प्रदर्शनीमा राखी चिर स्वायगू अर्थात होली पर्व सुरु भएको छ ।फागुण शुक्ल अष्टमीको दिन साँझ नेपाल भाषाबाट लज्ज अर्थात भीमसेनको लिङ्ग प्रतीकका रुपमा काठको मुढाबट बनेको तीन हात लामो, ३० इञ्च गोलाइको काठको लिङ्गलाई आज कमलपोखरीमा पखालेर सफा गरी ल्याउने र पूर्णिमाको साँझ सो भीमसेनको लज्जलाई ब्रम्हायणीको खोलामा लगि पखालेर ल्याउने प्रचलन छ । लिङ्गलाई कमलपोखरीमा पखालेर सफा गरी ल्याएपछि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा परिक्रमा गराइएको थियो ।
फागुपूर्णिमाको दिन साँझपख यसै लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । लिङ्ग प्रदर्शन गर्ने प्रचलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन तथ्य फेला नपरे पनि राजा जगतप्रकाश मल्लले १७औँ शताब्दीमा निर्माण गरेको यस मन्दिरमा सोही बेलादेखि यो प्रचलन रहेको बताउँदै आएको छ ।



















