निर्वाचनअघि ७२ घण्टा सीमा नाका बन्द गरिने

आगामी निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न मतदान मितिभन्दा ७२ घण्टा अगाडिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने भएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार यस्तो व्यवस्था लागू गर्न लागिएको हो। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मतदानअघि ७२ घण्टा सीमा नाका बन्द गर्ने प्रावधान उल्लेख छ। सोही कानुनी व्यवस्थाअनुसार आवश्यक तयारी अघि बढाइएको जनाइएको छ। समितिले निर्वाचन अवधिभर शान्ति-सुरक्षा सुदृढ बनाउन आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइने पनि स्पष्ट पारेको छ। संवेदनशील क्षेत्रको निगरानी, सुरक्षा निकायको परिचालन तथा सम्भावित जोखिमको पूर्वआँकलनका आधारमा सुरक्षा योजना कार्यान्वयन गरिने बताइएको छ।

निर्वाचन आयोगले निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकाय, स्थानीय प्रशासन र अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ।