फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनका दिन हवाई सेवा नियमित रूपमा सञ्चालन हुने भएको छ। निर्वाचन आयोगले निर्वाचन सुरक्षा र मतदान प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो।आयोगले गृह मन्त्रालय लाई पत्राचार गर्दै मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान अवरुद्ध नगर्न आवश्यक वातावरण बनाउन आग्रह गरेको जनाएको छ। निर्णयअनुसार उक्त दिन हवाई सेवा यथावत सञ्चालन हुनेछ। यात्रु व्यवस्थापनलाई सहज बनाउन आयोगले टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म र त्यहाँबाट पुनः विमानस्थलसम्म आवत–जावत गर्न अनुमति दिने व्यवस्था मिलाउन पनि भनेको छ। यसका लागि निजी सवारी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएका सवारीसाधन प्रयोग गर्न पाइनेछ।
यसअघि भएका निर्वाचनहरूमा भने मतदानका दिन आन्तरिक उडान स्थगित गर्ने प्रचलन थियो। सोही आधारमा नेपाल पर्यटन बोर्ड ले ट्राभल एडभाइजरी जारी गर्ने गरेको थियो। यसपटकको निर्णयले पर्यटन तथा अत्यावश्यक यात्रामा सहजता आउने अपेक्षा गरिएको छ।


















