आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवगठित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चुनावी अपिल सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गर्दै सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई मुख्य एजेन्डा बनाइएको छ। पार्टीले खर्चिलो र जटिल निर्वाचन प्रणाली परिवर्तन, संविधानको समीक्षा–परिमार्जन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाएको छ।
कृषि, उद्योग, जलस्रोत र पर्यटनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना, विभेद अन्त्य तथा स्वतन्त्र परराष्ट्र नीतिमार्फत राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने लक्ष्य पनि अपिलमा समेटिएको छ।


















