खाडीका देश र इजरायलका लागि सरकारले बन्द गर्‍यो श्रम स्वीकृति

सरकारले खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । खाडीका देशसहित नेपालबाट रोजगारीका लागि इजरायल जाने युवायुवतीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

खाडीका देशमा उत्पन्न पछिल्लो तनावसँगै यी क्षेत्रका लागि उडानहरू पनि प्रभावित भइरहेका छन् । उडानहरू नै प्रभावित भएको र ती देशका विमानस्थलहरूमा इरानको हमला जारी रहेका तत्काललाई श्रम स्वीकृति दिन बन्द गरिएको प्रवक्ता शिवाकोटीले जानकारी दिए ।

‘उडानहरू नै रोकिएका छन्, ती देशमा रहेका हाम्रा दूतावासले ट्राभल एड्भाइजरी नै जारी गरेका छन्,’ उनले भने, ‘यो परिस्थितिमा हिजोआज श्रम स्वीकृतिको टोकन भएकाहरूलाई पनि पर्खनुस् भनेका छौं ।’

स्थिति केही सहज भयो र उडानहरू चल्न थाल्नेबित्तिकै आवश्यकताअनुसार तत्काल श्रम स्वीकृति प्रदान गरिने पनि प्रवक्ता शिवाकोटीले बताए ।

अहिले विशेष गरी खाडीका देश यूएई, कतार, साउदी, ओमान, कुवेत, बहराइनलगायत देशमा इरानले मिसाइल आक्रमण गरिरहेको छ । यी देशका विमानस्थलहरू पूर्ण रूपमा बन्द छन् । नेपालबाट यी देशमा जाने र आउने उडानहरू रद्द भएका छन् ।