अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीले आफूहरूले अमेरिकासँग वार्ता नगर्ने बताएका छन् । देशमा सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये एक मानिने लारीजानीले इरानले मध्यस्थकर्तामार्फत अमेरिकासँग पुनः वार्ता सुरु गर्न आग्रह गरेको भनेर प्रकाशित समाचारको खण्डन गरेका हुन् ।

सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना झुटा आशामार्फत यो क्षेत्रलाई अन्योलमा धकेलेका छन् र अहिले अमेरिकी सेनाको थप हताहतीको चिन्तामा छन् ।’

उनले अगाडि लेखेका छन्, ‘आफ्ना भ्रमपूर्ण कार्यद्वारा उनले आफैँले बनाएको ‘अमेरिका फर्स्ट’को नारालाई ‘इजरायल फर्स्ट’मा परिणत गरेका छन् ।’