मध्यपूर्वमा बढ्दो सुरक्षा जोखिमबीच अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकलाई सक्दो चाँडो सुरक्षित स्थानतर्फ प्रस्थान गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको खतरा औंल्याउँदै विभिन्न मध्यपूर्वी मुलुकहरू छोड्न आफ्ना नागरिकलाई औपचारिक सूचना जारी गरेको हो। चेतावनी जारी गरिएका देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन रहेका छन्।
क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा यो कदम चालिएको हो। पछिल्ला दिनहरूमा इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउँदै आक्रमण गरेको बताइएको छ। त्यसअघि इजरायल र संयुक्त राज्य अमेरिकाले शनिबारदेखि इरानमाथि संयुक्त हमला सुरू गरेका थिए। उक्त आक्रमणमा अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ। त्यसपछि इरानले पनि इजरायल तथा खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै प्रतिआक्रमण जारी राखेको जनाइएको छ।
यसैबीच, रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएको छ। साउदी अरबको रक्षा मन्त्रालयका अनुसार दूतावास भवनमाथि दुईवटा ड्रोनमार्फत आक्रमण गरिएको पुष्टि भएको छ। क्षेत्रीय सुरक्षाको अवस्था थप जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले संयम र कूटनीतिक पहलको आवश्यकता औंल्याएको छ।




















