skip this वडा नं १६ बालाजु च:मती

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंका पक्षमा अधिवक्ता सुरेश बोहराले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। विद्युतीय अपराध मुद्दामा माघ २५ मा हाजिर जमानीमा रिहा भएका प्रसाईं फागुन ४ मा पुनः पक्राउ परेका थिए। प्रहरीले उनलाई निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोप लगाएको थियो।

न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको आदेशबाट फागुन १३ मा रिहा भएका प्रसाईं सर्वोच्चको आदेशपछि चार दिनमै फेरि पक्राउ परेका हुन्। पछिल्लो समय प्रशासनले चुनावी सुरक्षा सन्दर्भमा शंकाको आधारमा उनलाई नियन्त्रणमा लिने र अदालतको आदेशपछि छाड्ने क्रम दोहोरिँदै आएको छ।