काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी,सय दिनभित्रै परिणाम देखिने काम गर्ने प्रतिबद्धता

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। खनालले सरकार गठन भएमा पहिलो १०० दिनमै जनताले अनुभूति गर्नेगरी काम गर्ने बताएका छन् ।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले घरदैलो अभियानका क्रममा अधिकांश नागरिकले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न र राम्रो नीति तथा कानुन निर्माणमा ध्यान दिन आग्रह गरेको बताए । जनतामा आफूहरूप्रति ठूलो अपेक्षा रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

खनालले हालको निर्वाचन परिणामलाई नेपाली जनताले परिवर्तन र पुस्तान्तरणको पक्षमा दिएको जनमतका रूपमा आफूले बुझेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने प्रयास भइरहेको उल्लेख गरे। देशभर देखिएको अभूतपूर्व जनलहरलाई सम्मान गर्दै जनताको विश्वासलाई न्याय हुनेगरी काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

आजको अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत पाएका छन्।