नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले देशभर व्यहोरेको पराजयबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन्। उपाध्यक्ष पौडेलले रुपन्देही-२ मा पराजित भएपछि प्रतिक्रिया दिँदै यसपटकको हार कुनै एक उम्मेदवारको व्यक्तिगत कमजोरीका कारण नभएको बताए। उनका अनुसार चुनावमा देखिएको नतिजा समग्र राजनीतिक परिस्थितिको परिणाम हो।
रुपन्देही-२ मा उनी सुलभ खरेलसँग करिब ४० हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्। खरेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्। निर्वाचन आयोगले भने नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ। पौडेलले बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा देशभर लहर देखिएको र त्यसले मतदाताको निर्णयमा प्रभाव पारेको दाबी गरे। उनका अनुसार धेरै मतदाताले उम्मेदवारको क्षमता र योगदानभन्दा पनि चुनाव चिन्हलाई आधार मानेर मतदान गरेका कारण अन्य दलहरूका लागि प्रतिकूल नतिजा आएको हो।
उनले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि पार्टीले नेतृत्व, नीति र कार्यसम्पादनबारे गहिरो आत्मसमीक्षा गर्ने बताए। हार-जित लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा भएको भन्दै उनले नेता–कार्यकर्तालाई विचलित नहुन आग्रह गरे। “मतदाताको निर्णयलाई सम्मान गर्दै विजयी उम्मेदवारलाई सफल कार्यकालको शुभकामना दिन्छु,” पौडेलले भने, “देश र जनताको भावना अनुसार पार्टीको नेतृत्व, नीति तथा काम गर्ने शैलीबारे छिट्टै उपयुक्त निर्णय गरिनेछ।”
उनले पार्टीले व्यहोरेको हारप्रति आफू सहित शीर्ष नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा पनि राखे। देशभरबाट आएका सुझावलाई आत्मसात् गर्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ। पौडेलले पार्टी नेतृत्वबाट राजीनामाको आवाज पनि उठिरहेको संकेत गरे। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर चुनाव जित्दै आएका पौडेलले यसपटक भने अप्रत्याशित हार व्यहोरेका हुन्। यसअघि उनले २०६४ मा तत्कालीन माओवादीका भक्तिप्रसाद पाण्डेलाई पराजित गरेका थिए भने २०७० मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई हराएर चर्चामा आएका थिए।
२०७४ को निर्वाचनमा उनले कांग्रेसका युवराज गिरीलाई २२ हजार मतान्तरले हराएका थिए। २०७९ मा भने गणेश पौडेललाई १ हजार ६३६ मतले मात्र पराजित गर्दै जित हात पारेका थिए। यसपटक भने बदलिएको राजनीतिक समीकरण र नयाँ दलको प्रभावका कारण उनको राजनीतिक यात्रामा पहिलो ठूलो झट्का लागेको विश्लेषण गरिएको छ।















