जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले चुनावमा प्राविधिक रूपमा हार व्यहोरे पनि जनताको मन जितेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार चुनावको समीक्षा गर्दै अध्यक्ष घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत पाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना समेत दिएका छन् । उनले नयाँ सरकारले गर्ने राम्रा कामको समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने प्रष्ट पारेका छन् ।

घिसिङले देशको वर्तमान प्रशासनिक र विकास प्रणालीप्रति आलोचना गरेका छन् । एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले देशको विकास रोकेको उनको भनाइ छ ।

‘हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो,’घिसिङले लेखेका छन्, ‘यही कारण बजेट खर्च हुन सकेको छैन र जनताको आशा बारम्बार निराशामा बदलिँदै गएको छ।’