नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी नदिने भएको छ । पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार संसद्मा सत्तापक्षको स्पष्ट बहुमत रहेको र सभामुख पद साझा तथा निष्पक्ष भूमिका निर्वाह गर्ने पद भएकाले कांग्रेसले प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेको हो । पौडेलले संसद्को मर्यादा, निष्पक्षता र गरिमा जोगाउने जिम्मेवारी सभामुखमा निहित रहने उल्लेख गर्दै यस निर्णयले संसदीय संस्कारलाई थप मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन् ।
उता, नेकपा एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिने विषयमा अझै अन्तिम निर्णय गरिसकेको छैन । एमालेका सांसद गुरुप्रसाद बरालले पार्टी सचिवालय बैठकपछि मात्रै यसबारे स्पष्ट धारणा सार्वजनिक हुने बताएका छन् ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सभामुख पदका लागि डोलप्रसाद अर्याललाई उम्मेदवार बनाइसकेको छ । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १ सय ८२ सिट रहेकोले अर्यालको निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।


















