पाँच दशकपछि मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसनअन्तर्गतका अन्तरिक्ष यात्रीहरूले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण सुरु गरेका छन् ।

लिफ्टअफ भएको झण्डै २५ घण्टापछि गरिएको ‘ट्रान्सलुनर इग्निसन’ सफलतापूर्वक सम्पन्न भएसँगै तीन अमेरिकी र एक क्यानाडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सुल पृथ्वीको कक्षाबाट बाहिर निस्केर करिब दुई लाख ५० हजार माइल (चार लाख किलोमिटर) टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ । नासाका अधिकारी लोरी ग्लेजले सन् १९७२ मा अपोलो १७ पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्षा छोडेको घोषणा गरे ।

इन्जिन प्रज्वलन पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको जनाउँदै क्यानाडाली अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले पृथ्वीबाट टाढिँदै गर्दा देखिएको दृश्यलाई ‘अभूतपूर्व’ बताए । उनका अनुसार चालक दलका सदस्यहरू झ्यालमै टाँसिएर पृथ्वीलाई टाढिँदै गरेको हेर्दा भावुक बनेका थिए ।

नासाले सुरक्षाको दृष्टिले चन्द्र यात्राअघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवन–समर्थन प्रणाली परीक्षण गरेको थियो । त्यसपछि मात्र चन्द्रतर्फको पूर्ण यात्रा अनुमति दिइएको हो । यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजना—स्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थिति—का लागि महत्त्वपूर्ण आधार मानिएको छ ।

कमान्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र ह्यानसेनले चन्द्रमाको नजिक पुगेर त्यसभन्दा पारि घुमेर पुन: पृथ्वी फर्कने योजना बनाइएको छ । यस क्रममा उनीहरूले सन् १९७० को अपोलो १३ ले बनाएको दूरीको कीर्तिमान तोड्ने अपेक्षा गरिएको छ । साथै, अप्रिल १० मा पृथ्वीमा फर्किँदा सबैभन्दा तीव्र गतिमा पुन: प्रवेश गर्ने सम्भावना पनि छ ।

यो मिसनले इतिहासमा नयाँ आयाम थपिसकेको छ । ग्लोभर, कोच र ह्यानसेन क्रमश: पहिलो अश्वेत, पहिलो महिला र पहिलो गैर–अमेरिकी अन्तरिक्ष यात्रीका रूपमा चन्द्र यात्रामा सहभागी भएको हो । यसअघि अपोलो कार्यक्रमअन्तर्गत चन्द्रमा पुगेका २४ जना सबै श्वेत पुरुष थिए । ग्लोभरले पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा सम्पूर्ण मानवता एउटै देखिने उल्लेख गर्दै मानव एकताको सन्देश दिए । “हामी सबै एउटै प्रजाति हौँ”, उनले भने ।

मिसनको महत्त्वपूर्ण क्षणअघि अन्तरिक्ष यात्रीहरूलाई उत्साहित बनाउन सङ्गीतमार्फत जगाइएको थियो । त्यसपछि अन्तिम अनुमति दिँदै उहाँहरूलाई ‘मानवताको चन्द्र फर्कने यात्रा’ को हिस्सा भएको बताइएको थियो । क्याप्सुलले पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षण प्रयोग गर्दै ‘फ्रि–रिटर्न’ मार्गमा यात्रा गरिरहेको छ, जसमा इन्जिनले २४ हजार माइल प्रतिघण्टाभन्दा बढी गति दिएको छ ।

कमान्डर वाइजम्यानले यो यात्रा असाधारण र चुनौतीपूर्ण भएको उल्लेख गर्दै यसको गम्भीरता अहिले मात्र महसुस भइरहेको बताए । उडान निर्देशक जुड फ्रिलिङले पनि यसलाई जीवनमा एकपटक मात्र आउने अवसरका रूपमा व्याख्या गरे । अर्को महत्त्वपूर्ण चरण सोमबार चन्द्रमाको नजिक पुग्दा हुनेछ । ओरियन क्याप्सुल चन्द्रमाबाट करिब चार हजार माइल (छ हजार चार सय किलोमिटर) नजिक पुगेर त्यसको टाढाको भागको दुर्लभ दृश्य अवलोकन गर्नेछ । साथै, अन्तरिक्ष यात्रीहरूले पूर्ण सूर्यग्रहणसमेत देख्न पाउनेछ ।

यसअघि पृथ्वीको कक्षामा रहँदा उनीहरूले महादेशहरू, समुद्री किनार र दक्षिण ध्रुवसम्मको दृश्य स्पष्ट रूपमा अवलोकन गरेको थियो । कोचले ती दृश्यहरूलाई अत्यन्त प्रभावशाली बताए । नासाले यो मिसनलाई सन् २०२८ मा मानवलाई चन्द्रमामा अवतरण गराउने दीर्घ योजनाअन्तर्गत महत्त्वपूर्ण परीक्षणका रूपमा लिएको छ। यद्यपि, उडानका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका छन् ।

ओरियन क्याप्सुलको शौचालयमा समस्या देखिएपछि अन्तरिक्ष यात्रीहरूले वैकल्पिक उपाय अपनाएको थियो । साथै, पानी आपूर्ति प्रणालीमा सम्भावित समस्या समाधान गर्न पिसाब भण्डारण झोलाहरूलाई पानी भण्डारणका रूपमा प्रयोग गरिएको छ । अन्तरिक्ष यात्रीहरूले चन्द्रमातर्फको यात्राअघि सात लिटरभन्दा बढी पानी सुरक्षित राख्न सफल भएको छ ।

यी साना चुनौतीबीच पनि आर्टेमिस द्वितीयले मानव अन्तरिक्ष यात्राको नयाँ अध्याय सुरु गरेको छ, जसले चन्द्रमामा पुन: मानव उपस्थिति मात्र नभइ, भविष्यका गहिरा अन्तरिक्ष अभियानका लागि पनि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।