प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिवलाई छुन नसकेको टिप्पणी गरेको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले उक्त टिप्पणी गरेकी हुन् । उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खडकिएको पनि बताए ।
उपनेता अर्यालले सरकारको बजेटले गरिवलाई झनै गरिव बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाए । उनले भने,‘बजेटले गरिवीलाई छोएन । सिंगो बजेट वक्तव्यमा गरिवी भन्ने शब्दको उचित सम्बोधन छैन । सरकार भन्छ- मध्यम वर्गको विकास गर्ने । यसमा केही भन्नु छैन । तर यसको लक्ष्य कसरी हासिल गर्न सकिन्छ ? मेरो प्रश्न छ-२० प्रतिशत निरपेक्ष गरिवीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाईकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो ?
यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झनमाथि लैजाने नीति लिएको देखिन्छ । त्यसैले यो हुनेखाने र हुँदा खानेबीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो । मध्यम वर्गको आकार त्यत्तिकै फराकिलो हुँदैन । यसका लागि तल्लो स्तरको आय बढ्नुप¥यो । उनीहरुको हातमा सीप हुनु पर्दछ । बजारमा उनीहरुको उचित मूल्य हुनुपर्दछ । निमुखा वर्गलाई माथि उकास्ने, उनीहरुको चुल्होमा सधै आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव बजेटमा खडकिएको छ ।’
उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिव वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराएका छन् ।


















