चैत ७ मा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका यादवको मृ#त्यु

गत चैत ७ मा महाराजगञ्ज नगरपालिका–२ बरगदामा दुई समुदाय बीचको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

महाराजगञ्ज नगरपालिका बुटहनियाका २२ वर्षीय अरुण भनिने जितेन्द्र यादवको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । पेटमा गोली लागेर घाइते भएका उनको चैत ८ देखि भरतपुरस्थित चितवन मेडकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको हो । चैत्र ८ गते नै उनको शल्यक्रिया भएर भेन्टिलेटरमा दुई दिन राखेर आइसीयू कक्षमा सारिएको थियो । त्यसपछि १०–११ दिनदेखि उनको सामान्य वार्ड राखेर उपचार भइरहेको थियो ।

सामान्य अवस्थामा रहेका बेला सोमबार बिहान अचानक मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको आन्द्रामा घाउ भएको र शल्यक्रिया समेत गरिएको थियो । घटनामा उनीसहित ५ जनालाई गोली लागेको थियो । अन्य चार जना भने भैरहवा मेडिकल कलेजमा उपचारपछि घर फर्किसकेका छन् ।

गत चैत ७ मा बरगदा गाउँमा दुई समुदायबीच झडप हुँदा हुलाकी सडक खण्डअन्तर्गत तौलिहवा–बहादुरगञ्ज सडक तनावग्रस्त भएको थियो । त्यही क्रममा घटनास्थलभन्दा पश्चिम महाराजगञ्ज नगरपालिका–६ जिगना चौराहामा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीको गोली लागेर यादव घाइते भएका थिए ।