अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने सहमति

वासिङ्टन डिसी । अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ। तेहरानलाई स्ट्रेट अफ होर्मुज खोल्न वा इरानका नागरिक पूर्वाधारहरूमा विनाशकारी आक्रमणको सामना गर्न दिएको अन्तिम समयसीमा सकिनुभन्दा दुई घण्टा अगाडि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन्।

ट्रम्पको यो कदमलाई एक आकस्मिक मोडका रूपमा हेरिएको छ, किनकि मंगलबार मात्रै उनले यदि आफ्ना मागहरू पूरा नभए ‘आज राति एउटा पूरै सभ्यता समाप्त’ भन्ने चेतावनी दिएका थिए।

यस युद्धविरामको मध्यस्थता पाकिस्तानका प्रधानमन्त्रीले गरेका हुन् र दुवै पक्षबिच आगामी शुक्रबारदेखि पाकिस्तानको इस्लामावादमा वार्ता सुरु हुनेछ। इरानी सरकारी सञ्चारमाध्यमले भने यसलाई ट्रम्पको ‘अपमानजनक पछाडि हटाइ’ भन्दै व्याख्या गरेका छन्।

ट्रम्पका अनुसार यो सम्झौता इरानले स्ट्रेट अफ होर्मुजबाट हुने तेल र ग्यास आपूर्तिमा लगाएको अवरोध हटाउने सर्तमा आधारित छ। इरानका विदेशमन्त्री अब्बास अरागाचीले पनि तेहरानले जवाफी हमलाहरू रोक्ने र होर्मुज जलमार्गमा सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ुट्रुथ सोसलु मार्फत यो दुईतर्फी युद्धविराम भएको जानकारी दिँदै अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरिसकेको दाबी गरेका छन्। उनले इरानसँग दीर्घकालीन शान्तिका लागि निश्चित सम्झौताको नजिक पुगेको समेत बताएका छन्।

६ हप्तादेखि जारी यस युद्धमा अहिलेसम्म करिब ५ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमा इरानका १ हजार ६ सय सर्वसाधारण समावेश छन्। इजरायलले पनि यो युद्धविराममा सहमति जनाउँदै इरानमाथिको बमबारी अभियान स्थगित गर्ने पुष्टि गरेको छ।