युद्धविराम घोषणा गरेसँगै कच्चा तेलको मूल्यमा उच्च गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताको युद्धविराम घोषणा गरेसँगै बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ ।

बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई)कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल ओर्लिएको छ । ट्रम्पले विश्वको झन्डै २० प्रतिशत तेल ओसारपसार हुने स्ट्रेट अफ होर्मुज इरानले तत्काल र सुरक्षित रूपमा खुला गर्न तयार भएको बताएसँगै तेलमा उच्च गिरावट आएको हो ।

पछिल्लो तथ्यांकअनुसार ब्रेन्ट क्रुडको मूल्य १३.६ प्रतिशत अर्थात् (१४.८४ डलर) ले घटेर प्रतिब्यारेल ९४.४३ डलर कायम भएको छ। त्यस्तै, वेस्ट टेक्सस इन्टरमिडिएटको मूल्य १४.३ प्रतिशत (१६.१३ डलर)ले ओरालो लाग्दै प्रतिब्यारेल ९६.८२ डलरमा झरेको छ।